चलचित्र ‘प्रसाद’ को सिक्वेल निर्माण हुने भएको छ । ‘प्रसाद २’ को आउँदो दशैंपछि छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । निर्माता सुभाष थापाले अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको बताए । चलचित्रको कथा ‘प्रसाद’ कै लेखक शुशील पौडेलले लेखिरहेका छन् । उनी यतिबेला स्क्रिप्टलाई मूर्तरुप दिन व्यस्त छन् ।
‘प्रसाद २’ मा निर्देशक भने फेरिएका छन् । यो चलचित्रको पहिलो श्रृंखलालाई दिनेश राउतले निर्देशन गरेका थिए । यसको सिक्वेललाई ‘लभ डायरीज’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गर्दैछन् । उनी निर्देशकको रुपमा अनुबन्ध भइसकेको निर्माता थापाले बताए । चलचित्रमा कलाकार पुरानै दोहोरिने सम्भावना प्रवल छ । तर, अहिलेसम्म कुनै कलाकार अनुबन्ध भएका छैनन् ।

‘प्रसाद’ मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो । यसको सिक्वेल गर्न पनि उनीहरु सकारात्मक रहेको बुझिएको छ । चलचित्रमा निर्देशकको रुपमा दिनेश राउत नहुनुको कारणबारे निर्माता थापाले भने- ‘अहिले उहाँको पाइपलाइनमा ३/४ वटा चलचित्र रहेछ । उहाँलाई कुर्दा २/३ वर्ष लाग्ने भएपछि सौरभ चौधरीलाई निर्देशकमा अनुबन्ध गरेको हुँ ।’
उनका अनुसार, ‘प्रसाद’ जहाँबाट सुरु भएको थियो त्योभन्दा अगाडि र जहाँ अन्त्य भएको थियो त्यसपछिको कथा सिक्वेलमा जोडिनेछ । विवाहभन्दा अगाडि विपिन र नम्रताबीचको प्रेम र सन्तान भएपछिको कथालाई पर्दामा उतारिने उनले बताए । कोरोनाको महामारी सामान्य भएपछि चलचित्र घोषणा गर्ने तयारीमा रहेका उनी चलचित्र ‘सेल्फी किङ’ का निर्माता पनि हुन् ।




