अभिनेता गजित विष्टले टिभी सिरिज ‘अचानक’ बाट निर्देशनमा डेब्यू गरेका छन् । रमाइलो एचडी टिभीका लागि तयार पारिएको यो सिरिज भोली बुधवार साँझ ८ बजेबाट प्रशारण हुने भएको छ । यो सिरिजको कथा र कन्सेप्ट गतिज स्वयंको हो भने कार्यकारी निर्मातामा कलाकार निर्मल शर्मा रहेका छन् ।

निर्मल शर्मा, रजनी केसी, गजित विष्ट, कृष्ण सिवाकोटी, प्रकाश बस्नेत, अंशिका बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको ‘अचानक’ क्राइम-थ्रिलर सिरिज रहेको गजितले बताए । यो सिरिजको ४ एपिसोडको छायांकन पूरा भइसकेको छ । रमाइलो एचडीसँग १२ एपिसोडका लागि सम्झौता भएको गजितले बताएका छन् ।
गीतमा चन्द्रमणी भट्टराईको शब्द, डेनी निरौलाको संगीत रहने छ । सुनिल थापाको सम्पादन र राजु केसीको छायांकन रहेको यो सिरिज दर्शकलाई मनपर्ने निर्देशक विष्टको विश्वास छ । १२ एपिसोड प्रशारण भएपछि दर्शकको प्रतिक्रिया अनुसार अगाडि बढ्ने उनले बताए । निर्माण टिमले सोमवार सार्वजनिक गरेको ‘अचानक’ को पोस्टरमा अभिनेत्री रजनी केसी फिचर छिन् ।




