नेपाल सरकारले कोरोनाको संक्रमणबाट बच्न चार महिना अगाडि घोषणा गरेको लकडाउन अन्त्यको घोषणा गरेको छ । मंगलवार सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार मध्यराति १२ बजेबाट लकडाउन अन्त्य हुने जानकारी दिएका हुन् । उनले अब लकडाउन जारी छ भन्न नपर्ने भन्दै त्यसको अन्त्य भएको बताएका हुन् ।
चार महिना लामो लकडाउन अन्त्य भए पनि केही क्षेत्रमा प्रतिबन्ध कायमै रहेको छ । सिनेमा हल, शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, पुस्तकालय, संग्राहलयहरु, पार्टी प्यालेस, चिडिया खाना, धार्मिक स्थललगायत भीडभाड हुने क्षेत्र अनिश्चितकालसम्म बन्द रहने अर्थमन्त्री खतिवडाको बताएका छन् ।

नेपाली चलचित्रकर्मीहरु लकडाउनको अन्त्य भएपछि चलचित्र क्षेत्र खुल्ने अपेक्षामा थिए । तर, सरकारले अनिश्चितकालसम्म चलचित्र क्षेत्रमा प्रतिबन्ध लगाएपछि चलचित्रकर्मीहरु निराश र आक्रोशित भएका छन् । कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्रमा समेत नपरेको चलचित्र क्षेत्र लकडाउनको अन्त्य हुँदा पनि नखुल्ने भएपछि यस क्षेत्रमा आश्रित हजारौंको भविष्य संकटमा परेको छ ।
लकडाउन भएदेखि चलचित्र क्षेत्र पूर्ण रुपमा ठप्प छ । सयौं सिनेमा हलमा बन्द छन् । प्रदर्शनको तयारीमा रहेका र छायांकनरत चलचित्र रोकिँदा निर्मातालाई लाखौं क्षति भएको छ । फिल्ममा काम गरेर दैनिक गुजारा चलाउने प्राविधिकहरुलाई विहान बेलुका हातमुख जोर्न समेत समस्या भएको छ । यो अवस्थामा पनि सरकारले भने चलचित्र क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ ।




