पूजा लेख्छिन्, ‘नेपाली चलचित्रको छुट्टै अस्तित्व छैन ?’



मंगलवार रातको १२ बजेबाट गत वर्षको चैत ११ गतेबाट देशमा जारी लकडाउन पूर्ण रुपमा अन्त्य भएको छ । चार महिना लामो लकडाउनमा नेपालका हरेक क्षेत्र ठप्प रहे । जसका कारण देशको आर्थिक अवस्था चौपट भएको थियो । लकडाउनको अन्त्य भएसँगै देशको अर्थतन्त्रको प्रमुख खम्बा मानिने विभिन्न क्षेत्र सञ्चालनमा आएका छन् । तर, केही क्षेत्रमा अझै प्रतिबन्ध कायमै छ ।

सरकारले अर्को निर्णय नगर्दासम्म शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना बन्दै रहनेछन् । मनोरञ्जन क्षेत्रमा प्रतिबन्ध कायमै हुने भएपछि यस क्षेत्रमा आबद्ध व्यक्तिहरु आक्रोशित भएका छन् ।

चलचित्र क्षेत्रका अगुवाहरु लकडाउनको अन्त्य भएपछि चलचित्र प्रदर्शन र निर्माणसँगै सिनेमा हल खुल्नेमा विश्वस्त थिए । तर, सरकारको निर्णयले चलचित्र क्षेत्रमा निराशा छाएको छ । भीडभाड हुने यातायात, होटल, हवाईलगायत विभिन्न क्षेत्रले सञ्चालनको अनुमति पाउँदा मनोरञ्जन क्षेत्रमा प्रतिबन्ध कायमै रहनुले सरकार यस क्षेत्रप्रति गम्भीर नभएको टिप्पणी सुरु भएको छ ।

लकडाउनको अन्त्य हुँदा पनि सरकार र चलचित्र क्षेत्रका नेतृत्व वर्ग चलचित्र क्षेत्र सुचारू गर्न अग्रसर नदेखिएकामा अभिनेत्री पूजा शर्माले असन्तुष्टि व्यक्त गरेकी छन् । आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै उनले भारतको चलचित्र क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नु पर्ने हो भन्दै प्रश्न समेत गरेकी छन् । छलफल र बहसबाट सरकारलाई दबाब दिन उनको आग्रह छ ।

उनले लेखेकी छन्, ‘के हामी नेपाली चलचित्रको छुट्टै अस्तित्व छैन ? नेपाली चलचित्रले के हामी चलायमान हुन सक्दैन यो गम्भीर प्रश्न हो । आऔं, छलफल बहस गरौं, सरकारलाई दबाब दिऔं र कोरोना कहरबाट सुरक्षित रहने व्यवस्थासहित चलचित्र क्षेत्रलाई चलायमान बनाऔं ।’ चार महिनादेखि ठप्प रहेको चलचित्र क्षेत्र खोल्न सरकारलाई दबाब कम भएको उनको आशय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu