३५ वर्षका भए अनुप, अब चलचित्र छनौटमा चुजी हुने



पर्दामा भिलेनको भूमिकामा निकै रुचाइएका अभिनेता अनुप विक्रम शाही बिहीवारबाट ३५ वर्षमा लागेका छन् । उनलाई मध्यरातदेखि नै सामाजिक सञ्जालमार्फत् चलचित्रकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । कोरोनाको महामारीका कारण अघिल्ला वर्ष झैँ यसपटक उनी जन्मदिन विशेष तरिकाले मनाउने सोचमा छैनन् ।

अभिनयसँगै सामाजिक कार्यमा पनि सक्रिय अनुपले केही बच्चाको लालन–पालन र शिक्षा–दीक्षाको समेत जिम्मेवारी उठाएका छन् । कोरोनाका कारण जारी लकडाउनको समयमा उनले राजधानीको एक बाल आश्रममा आश्रित ३० जना बालबालिकालाई राहत बाँढेका थिए । आफ्नो जन्मदिनको अवसरमा उनले सोही आश्रमका बालबालिकाका लागि ८ थान ल्यापटप हस्तान्तरण गर्दैछन् ।

अनुपले भने- ‘कोरोनाका कारण यसपटक साथी-भाईसँग जन्मदिन सेलिव्रेट गर्ने कार्यक्रम छैन । मैले केही बालबालिकालाई हेर्दै आएको छु । उनीहरुको शिक्षा–दीक्षाका लागि आज ल्यापटप प्रदान गर्दैछु र इन्टरनेट कनेक्सन पनि गर्न लागेको छु । कोरोनाका कारण उनीहरुले राम्रोसँग अध्ययन गर्न पाएका छैनन् । इन्टरनेटबाट अध्ययन गर्नका लागि ल्यापटप प्रदान गर्न लागेको हुँ ।’

उमेरले ३५ वर्षमा टेके पनि उनी तत्काल विवाह गर्ने सोचमा छैनन् । घर-परिवारबाट पनि विवाहका लागि खासै दबाब नभएको उनको भनाई छ । अभिनेत्री मलिना जोशीसँग प्रेम सम्बन्ध टुटेपछि सिंगल रहेको बताउने अनुप आफ्नो चलचित्र करिअरलाई लिएर सन्तुष्ट रहेको बताउँछन् । अब चलचित्र छनौटमा चुजी हुने उनको योजना छ । अहिले उनले कुनै चलचित्र साइन गरेका छैनन् ।

‘लप्पन छप्पन २’ को छायांकन सकेर बसेका उनले भने- ‘पहिला मैले धेरै मान्छेलाई विश्वास गरेँ । तर, विभिन्न कारणले चलचित्र राम्रो बन्न सकेन । अब चाहिँ वर्षमा एक वा दुईवटा चलचित्र गर्ने सोचमा छु । चलचित्रको अफर त भइरहेको छ । तर, स्क्रिप्ट र आफ्नो भूमिका चित्त नबुझेसम्म चलचित्र साइन गर्दिनँ ।’ चलचित्रमा अनुपले हिरो र भिलेन दुवै खाले भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu