अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहबीचको विवादले नयाँ मोड लिएको छ । साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’ को सेटमा आफूलाई नराम्रो व्यवहार गरेको र जापानमा भएको अवार्डमा दुव्र्यवहार गरेको आरोप लगाएपछि भुवनले चलचित्र कलाकार संघमा सत्यतथ्य छानबिनको माग गर्दै निवेदन दिएका थिए । संघले विवाद मिलाउन नसकेपछि भुवन अदालत पुगेका छन् ।

अभिनेता केसीले बिहीवार जिल्ला अदालत काठमाडौंमा साम्राज्ञी विरुद्ध मुद्दा दर्ता गरेका छन् । उनी गाली बेइजतीको मुद्धा लिएर अदालत पुगेका हुन् । यो विषयमा विभिन्न व्यक्तिले बोल्न थालेपछि अब सबै कुरा अदालतले फैसला गर्ने भुवनले बताएका छन् । साम्राज्ञीले सामाजिक सञ्जालमा पटक-पटक भिडियो सार्वजनिक गरेर आफूमाथि झुटा आरोप लगाएको उनको भनाई छ ।
अभिनेत्री साम्राज्ञीले इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै आफूले अभिनय गरेको आठ चलचित्रमध्ये तीन चलचित्र ब्यानरका व्यक्तिले नराम्रो व्यवहार गरेको बताएकी थिइन् ।
साम्राज्ञीले आफूलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै भुवन केसीले फेसबुकमा ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोशपूर्ण स्टाटस लेखेका थिए ।




