नेपाली चलचित्र ‘बारपाकी माया’ को सिक्वेल निर्माण हुने भएको छ । अनुता गुरुङ र खिलबहादुर गुरुङले अभिनय गरेको चलचित्रले गुरुङ संस्कृतिको विषयलाई उठान गरेको थियो । सिक्वेलमा भने बारपाकको जनजीवन र त्यहाँको रहनसहनलाई प्रस्तुत गरिने निर्देशक प्रितम गुरुङले जानकारी दिए । लकडाउनमा चलचित्रको स्क्रिप्ट तयार पारिएको हो ।

चलचित्र ‘बारपाकी माया २’ करिब ८० लाखको बजेटमा निर्माण हुने बताइएको छ । चलचित्रको उत्तरी गोर्खाको बारपाक, लाप्राक, मम्चे डाँडा, धार्छेजस्ता रमणीय स्थानमा छायांकन गरिने निर्देशक गुरुङले बताए । सरकारले चलचित्र छायांकनका लागि अनुमति दिएसँगै चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । चलचित्रमा केही कलाकार पुराना र केही नयाँ हुने जनाइएको छ ।
‘बारपाकी माया’ मा २०७२ सालको महाभूकम्पअघिको बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरिएको थियो । सिक्वेलमा भूकम्पपछि तहसनहस भएको गाउँको पुनर्निर्माणपछिको दृश्यहरुलाई कैद गरिनेछ । अघिल्लो श्रृंखलालाई दर्शकहरुले रुचाएका कारण सिक्वेल निर्माण गर्न लागेको निर्देशक गुरुङ बताउँछन् । चलचित्रका लागि अडिसनबाट कलाकार छानिने बताइएको छ ।




