चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले विश्वका १२ भाषामा संगीत गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरेको छ । संघले संगीतकार श्रेष्ठलाई शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

संघका दाङ शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा सामुदायिक रेडियो प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीको प्रमुख आतिथ्यता एवं संगीतकार श्रेष्ठको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो । संगीतकार श्रेष्ठले नेपाली, हिन्दी, चाइनिज, जापनिज, अंग्रेजी, रसियन , कोरियन, स्पेन, फेन्च, इटालियन, जर्मन र थाइ भाषा गरेर १२ भाषामा संगीत गरेर गिनिज बुकमा नाम लेखाएका थिए ।
संगीतकार श्रेष्ठले समाजका कुरा बोल्ने गीत संगीतले जीवन्त पाउने बताए । संख्यात्मक रुपमा धेरै सिर्जनाले मात्रै उचाईमा पुग्ने नहुने भन्दै थौरै सृजनाले पनि कलाकार जीवन्त हुन सक्ने उनको भनाई छ । त्यस्तै, सामुदायिक प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, चलचित्र पत्रकार संघका सल्लाहकार शरद रेग्मी, सामुदायिक प्रशारक संघ प्रदेश ५ का सचिव संगीत बस्याल, राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणी देवकोटा, सिस्नोपानी नेपालका अध्यक्ष डाक्टर लोकराज पराजुली लगायतले संगीतकार श्रेष्ठको विश्व कृतिमानीले दाङलाई पनि चिनाउन सफल भएको बताए ।






