नेपाली मौलिक गायन रियालिटी शो वाइवाइ ‘नेपाल स्टार’ को अडिशनका सम्पूर्ण एपिसोडहरुको प्रशारण पश्चात् नयाँ प्रविधि प्रयोग गर्दै दोस्रो राउण्ड प्रशारण सुरु गरिरहेको छ । देशका सातै प्रदेशलाई समेटेर अडिशन गरिएको यो रियालिटी शो प्रशारणमा आएसँगै कोभिड-१९ का कारण काठमाडौं अडिशनदेखिको प्रशारण मिति समेत सार्दै जेठ ३१ गतेदेखि फेरि थालिएको थियो ।
अडिशनका सबै एपिसोडको प्रशारण सकिएपछि दोस्रो राउण्डको सुरुवात गर्नुअगावै तयारी गर्दै पहिले तय गरिएको फर्म्याटभन्दा बाहिर निस्केर सामाजिक दूरी कायम गर्दै प्रविधिमैत्री हुँदै यो राउण्डलाई सुरु गरिएको छ । जहाँ अडिशनबाट छानिएका हरेक प्रतिस्पर्धीले आफ्नो स्वर सुहाउँदो गीत चयन गरेर यथास्थानबाटै खिचेर पठाएको भिडियोलाई मञ्चमा बजाउँदै तीनजना निर्णायकहरुलाई मात्र मञ्चमा राखेर गीत सुन्दै मार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिस्पर्धीले गाएको गीतमा संगीत पनि सुन्न सकिने यो राउन्डदेखिका सबै एपिसोडहरुमा संगीत बजाउँदै साथ दिने सांगीतिक समुहमध्येकै दुई बाजा गीतार र पियानो बजाएको पनि देख्न सकिन्छ । यसरी नेपालका लागि बिल्कुनै नौलो यो प्रविधिबाट तयार गरिएका एपिसोडहरु दुईवटा प्रशारण भइसकेका छन् । जहाँबाट प्रत्येक एपिसोडमा १२ जना गर्दै २४ जना प्रतिस्पर्धीहरु अघिल्लो राउण्डका लागि छनोट भइसकेका छन् ।
अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने ‘नेपाल स्टार’ का निर्देशक रवि श्रेष्ठले बताएका छन् । कार्यक्रमका निर्णायकमा रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री रहेका छन् । नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ ।




