नेपाली चलचित्र क्षेत्रलाई नयाँ दिशा दिन ‘छक्का पञ्जा’ को ठूलो योगदान छ । सर्वाधिक कमाई गरेको दीपाश्री निरौला निर्देशित यो चलचित्रपछि नेपाली चलचित्रको धार नै परिवर्तन भएको थियो । अब यो चलचित्रको चौथो श्रृंखला निर्माण हुँदैछ । यस वर्षको दशैंमा प्रदर्शन गर्ने घोषणा गरिए पनि कोरोना भाइरसको महामारीका कारण चलचित्रको छायांकन समेत सुरु भएको छैन ।

चलनचल्तीमा रहेका उखान टुक्कालाई जोडजाड गरेर चलचित्र बनाउने गरेको आरोप खप्दै आएको दीपक-दीपाको समुह ‘छक्का पञ्जा ४’ मा भने फरक कथा भन्ने प्रयासमा छ । कलाकार दीपकराज गिरी लकडाउन हुनुभन्दा अगावैदेखि चलचित्रको स्क्रिप्टमा व्यस्त थिए । लामो समयदेखि एउटै शैलीको कथा भनेका कारण यसपटक आफ्नोपन बोक्ने कथा भन्ने उनले बताएका छन् ।
‘छक्का पञ्जा ४’ को कथा अघिल्ला सिरिजभन्दा भिन्न रहेको र छायांकनका लागि एक वर्ष लाग्ने दीपकराजको भनाई छ । उनका अनुसार, चलचित्र तीन करोडको लागतमा निर्माण हुनेछ । चलचित्रको छायांकन लामो समयसम्म चल्ने भएकाले योभन्दा अगाडि दीपक-दीपाको समुह बाहिरी ब्यानरको चलचित्र गर्ने तयारीमा छ । स्थिति सामान्य भएपछि उक्त चलचित्रको छायांकन सुरु हुनेछ ।




