चार महिना लामो लकडाउन सरकारले अन्त्य गरे पनि चलचित्र क्षेत्रमाथि प्रतिबन्ध कायमै छ । चलचित्र निर्माण नहुँदा हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ । कलाकारहरु कामविहीन भएका छन् । निर्माताहरुले लाखौं क्षति बेहोर्नुपरेको छ । सिनेमा हल बन्द हुँदा हल सञ्चालकको करोडौंको लगानी जोखिममा परेको छ । यतिबेला चलचित्र क्षेत्रमा समस्याका चांगबाहेक अरु छैनन् ।
निर्देशक नवल नेपालले भने सामुहिक हातेमालोले यो विषम परिस्थितिबाट फेरि नेपाली चलचित्र क्षेत्र तंग्रिने विश्वास व्यक्त गरेका छन् । शुक्रवार फेसबुकमा स्टाटस लेख्दै उनले घाइते रहँदा पनि युद्ध गर्ने कला र आदत चलचित्रकर्मीसँग भएकाले यो परिस्थितिलाई जितेर उठ्ने बताएका छन् । उनले यसअघि पनि चलचित्र क्षेत्रले विभिन्न कठिन परिस्थितिको सामना गरेको स्मरण गरेका छन् ।

उनले लेखेका छन्, ‘जनयुद्ध सुरु भएयता अत्तालिएको सिने क्षेत्र २०५८ देखि विचलित नै बन्यो । ०६२/०६३ को परिवर्तनपछि तंग्रिन खोजेको सिने क्षेत्र पहिलो संविधान सभाको चुनावपछि विभिन्न राजनैतिक बाछिटाको ओस खेप्न पुग्यो । प्राविधिकहरुको सपना, श्रृजना र पेशा अनेक बहानामा निमोठिँदै गए, सक्नेले लड्दै गयौं । ०७२ को प्राकृतिक विपत्ति (भूकम्प) को जङ्घारलाई पनि तरेर आएको यो क्षेत्र सबैको प्रयासमा फूल्न सफल भयो ।’
कोरोनाका कारण चलचित्र क्षेत्रले अप्ठ्यारो स्थितिको सामना गरिरहेको उल्लेख गर्दै निर्देशक नेपालले थपेका छन्, ‘ढिलो चाँडो हामी श्रमजीवि चलचित्रकर्मी, यसमा आवद्ध वितरक, प्रदर्शकसहित पत्रकार र कलाप्रेमी दर्शकहरुको सामुहिक हातेमालोले फेरि तंग्रिने छ । फेरि मौलाउने छ । किनकि, घाइते रहँदा पनि युद्ध गर्ने कला र आदत हामीसँग छ । संकल्प गरौं । हामी उठ्ने छौं ।’




