चलचित्रको छायांकनका लागि विभिन्न उपकरणहरु उपलब्ध गराउँदै आएका चार कम्पनीबीच सहकार्य भएको छ । यसअघि एकअर्कासँग प्रतिस्पर्धा गर्दै आएका अश्लेषा इन्टरटेन्मेन्ट (विश्व गौचन), सिनेफोर्स रिन्टल (रजत बुढाथोकी), मल्टी मेट (जीवन थापा) र जस्मिन फिल्मस् (धिरेन शाक्य) बीच चलचित्र खिच्न आवश्यक पर्ने उपकरणहरु मिलेर पठाउने सहमति भएको हो ।

मल्टी मेटका सञ्चालक जीवन थापाले ‘एसीएमजी ग्रुप’ बाट आउँदो भदौ १ गतेदेखि चलचित्र छायांकनका लागि चाहिने क्यामेरा वा अन्य उपकरण पठाउने निर्णय भएको बताए । पहिले निर्माताले तिर्ने क्यामेरा लगायतका उपकरणको भाडामा एकरुपता थिएन, अब त्यो अवस्थाको अन्त्य भएको छ’ । अब हाम्रो ग्रुपले नै सबै उपकरण उपलब्ध गराउनेछ,’ उनले भने ।
चलचित्र निर्माणको गति बढाउन निर्मातालाई विशेष प्याकेजका साथ क्यामेरा लगायतका उपकरण उपलब्ध गराउने पनि उनी बताउँछन् । थापाले अगाडि भने- ‘अब क्यू सिस्टममा उपकरणहरु पठाइनेछ । यसले निर्मातालाई पनि राहत दिन्छ’ । क्यामेरा र अन्य उपकरणमा कति छुट दिने भन्ने विषयमा केही दिनमा निर्णय हुने उनले बताए ।