निरुताको प्रश्न : अग्रजहरुलाई सम्मान गरेर उपाधि दिने अधिकार पनि छैन ?



‘महानायक’ विवाद अझै सेलाउने पक्षमा देखिएको छैन । अभिनेत्री निरुता सिंहले शनिवार फेसबुकर्मा क स्टाटस लेख्दै भुवन केसीलाई आफ्नो सपनाको महानायक भनेपछि अहिले सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन् । भुवन केसीलाई सम्मान दिने बहानामा राजेश हमालको अपमान गरेको र भुवन केसीको चमचागिरी गरेको भन्दै उनको विरोध भइरहेको छ ।

यस विषयमा निरुताले आइतवार फेसबुकमा स्टाटस लेख्दै आफूले भुवन केसीलाई महानायकको उपाधि नदिएको र चमचागिरी पनि गरेको बताएकी छन् । राजेश हमाल चलचित्रमा आउनुभन्दा अगाडि भुवन केसीका ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’ चलचित्र हेरेको उल्लेख गर्दै उनले ‘मेरो सपनाको महानायक’ शब्दको मतलब दर्शकहरुले नबुझेकै हुन् त भनेर प्रश्न पनि गरेकी छन् ।

उनले राजेश हमाललाई आफूले पनि ‘महानायक’ मान्ने बताउँदै लेखेकी छन्, ‘एउटा कलाकारको नाताले के मलाई मेरो अग्रज दाई अनि दिदीहरूलाई सम्मानपूर्वक उपाधि दिने अधिकार पनि छैन र ? मेरो लागि ति सबै अग्रज कलाकारहरू नै महानायक अनि महनायिका हुन्, जसले हाम्रो सानो नेपाली चलचित्र क्षेत्रलाई यहाँसम्म पुर्‍याउनका लागि आफ्नो कलाको योगदान दिनुभएको छ ।’

उनले आफ्नो लागि राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाहलगायत महानायक र भुवन चन्द, बसुन्धरा भुसाल, करिश्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मालगायत महानायिका रहेको बताएकी छन् । कसैलाई सम्मान गरेर महानायक, महानायिका, सुपरस्टार वा मेघास्टारको उपाधि दिनु आफ्नो नितान्त विचार रहेको निरुताको भनाई छ ।

भुवन केसीको चमचागिरी गरेको भन्ने दर्शकको आरोपमा निरुताले थपेकी छन्, ‘म उहाँहरूलाई भन्न चाहन्छु कि म नेपाली चलचित्रदेखि टाढा रहेको धेरै वर्ष भइसक्यो । अनि मैले नेपाली चलचित्रमा काम गर्नको लागि आज आएर कसैको चमचागिरी गर्नु जरूरी नै छैन ।’ उनले कोरोनाको महामारीको समयमा ‘महानायक’ को विषयमा अल्झिनु राम्रो नभएको पनि बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu