लगानी बढाएर चलचित्र बनाउनु जोखिमपूर्ण : निर्देशक भट्टराई



निर्देशक दीवाकर भट्टराईले कोरोनाको महामारीपछि कलाकार र प्राविधिकले पारिश्रमिक घटाएर निर्मातालाई चलचित्र निर्माणका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । उनी भन्छन्, ‘यो अवस्थामा ठूलो लगानीमा चलचित्र बनाउनु जोखिमपूर्ण हुन्छ । चलचित्रको लागत बढ्न नदिन कलाकार, प्राविधिकसँगै क्यामेरालगायतका उपकरण उपलब्ध गराउने कम्पनीले केही छुट गर्नुपर्छ ।’

चलचित्रमा ठूलो लगानी गर्ने वातावरण नभए पनि कम्प्रमाइज गर्न नहुने उनको तर्क छ । ‘लगानी बढाउनु हुन्न भनेर चलचित्रलाई आवश्यक पर्ने कुरामा कञ्जुसाइँ गर्न भने मिल्दैन । सबै मिलेर पारिश्रमिकलगायतका पाटोमा सहयोग गर्न सक्यौं भने सानो लगानीमा पनि राम्रो चलचित्र बन्छ,’ उनले भने । नयाँ चलचित्रको तयारीमा रहेका उनी अहिले श्रीमतीसँग चितवन घुमघाममा छन् ।

सरकारले छायांकन अनुमति दिएपछि उनी ‘तिमीसँगै हुन मन छ’ चलचित्रको छायांकन थाल्ने योजनामा छन् । उनले भने- ‘सरकारले छायांकन अनुमति दिएर पनि नहुने अवस्था छ । घर, रेस्टुरेन्टलगायतका ठाउँमा चलचित्रको छायांकन गर्नुपर्छ । कोरोनाको भयले ती ठाउँमा छायांकनका लागि अनुमति नै पाउन गाह्रो छ ।’ उनी लोकेशन बुझ्न केही दिनमा चितवनबाट पोखरामा प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu