अभिनेता आर्यन सिग्देल बुधवार आफ्नो जन्मदिन मनाउँदैछन् । ३६ वर्षमा प्रवेश गरेका उनको २०४१ साल साउन २१ गते जन्म भएको हो । उनको नागरिकतामा भने जन्म मिति साउन ५ छ । उनको न्वारनको नाम हरिश सिग्देल हो । चलचित्रमा प्रवेश गरेपछि उनले नाम परिवर्तन गरेका थिए । एक चलचित्रका लागि लोकेशन हेर्न पोखरामा रहेका उनी त्यही आफ्नो जन्मदिन सेलिब्रेट गर्दैछन् ।
आर्यनले चलचित्र ‘किस्मत’ बाट अभिनय करिअर सुरु गरेका थिए । यो चलचित्रको सफलतापछि उनले झण्डै एक दशक आफ्नो करिअर पछाडि फर्केर हेर्नुपरेन । लभस्टोरी चलचित्रमा उनी निर्विकल्प अभिनेता झैँ थिए । चलचित्र ‘मेरो एउटा साथी छ’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेका उनले हरर र एक्सन जनराका चलचित्रमा पनि काम गरिसकेका छन् ।

‘कसले चोर्यो मेरो मन’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘के यो माया हो’, ‘कोही मेरो’, ‘नाईं नभन्नू ल ३’ लगायत उनी अभिनीत सम्झनलायक चलचित्र हुन् । एक समय बक्सअफिसका हिट मेशिन भनिने आर्यनको केही वर्षयता चलचित्र करिअर सुखद छैन । उनी अभिनीत एकपछि अर्को चलचित्रले बक्सअफिसमा घुँडा टेकेका छन् । जसले गर्दा उनको स्टारडममाथि प्रश्न उठ्न थालेको छ ।
गत वर्ष उनी अभिनीत दुई चलचित्र ‘हजार जुनीसम्म’ र ‘च च हुईं’ प्रदर्शनमा आएका थिए । कोरोनाको महामारी अन्त्य भएपछि उनी ‘सेल्फी किङ’ निर्देशक विशाल भण्डारीसँग एक चलचित्रमा काम गर्ने तयारीमा छन् । ३२ वर्षको उमेरमा आफूभन्दा ६ वर्ष कान्छी सपना भण्डारीसँग विवाह गरेका आर्यन एक छोराको पिता समेत भइसकेका छन् ।