अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्मको विषयमा बहस चर्कियो । यसको बाछिटा नेपालसम्म आइपुग्यो । चलचित्र क्षेत्रमा नेपोटिज्म र ग्रुपिज्म व्याप्त रहेको भन्दै केही कलाकार बहसमा उत्रिए । दीपकराज गिरी, सुदर्शन थापा, सन्तोष सेन, दीपेन्द्र के. खनाल, छविराज ओझालगायतलाई फिल्म क्षेत्रमा ग्रुपिज्म गरेको आरोप पनि लाग्यो । आफ्नो चलचित्रमा एउटै कलाकार दोहोर्याएर ग्रुपिज्म गरेको आरोप उनीहरुमाथि छ ।
तर, निर्देशक खनाल आफूले अहिलेसम्म ग्रुपिज्म नगरेको दाबी गर्छन् । उनले भने- ‘म ग्रुपिज्मको विरोध हुँ । मेरो लगातार तीन चलचित्रमा सुरक्षा पन्त दोहोरिएका कारण त्यस प्रकारको चर्चा भएको हुनसक्छ । तर, मैले उसलाई चलचित्रको कथामा सुहाउने भएका कारण लिएको हुँ । अब बनाउने चलचित्रमा ऊ नहुन पनि सक्छ । त्यसैले मैले ग्रुपिज्म गरिरहेको छु भनेर भन्नु गलत होला ।’

उनी चलचित्रको छायांकनपछि कलाकारसँग आफ्नो सम्पर्क नै नहुने बताउँछन् । सुरक्षासँग चलचित्र ‘आमा’ पछि बीचमा एकपटक मात्र कुराकानी भएको उनले बताए । कथामा सुहाउने भए मात्र काम गरिसकेका कलाकारलाई चलचित्रमा लिने उनको भनाई छ । उनी थप्छन्, ‘म ग्रुपिज्मको कुरामा एकदमै सतर्क हुन्छु । जो प्रतिभावान छ, उसले अवसर पाउनुपर्छ भन्ने सोच राख्छु ।’
चलचित्र क्षेत्रमा नेपोटिज्म नभए पनि ग्रुपिज्म भने केही देख्न पाइने उनको भनाइ छ । ‘अरु बेलामा भन्दा पनि चलचित्र रिलिजको समयमा ग्रुपिज्म अलि देख्न पाइन्छ । नेपोटिज्म छ भन्ने चाहिँ म मान्दिनँ,’ उनले भने । निर्देशक खनाल ‘आमा’ पछि ‘चिसो मान्छे’ र ‘लकडाउन’ गरी दुई चलचित्रको तयारीमा छन् । स्थिति सामान्य भएपछि ‘चिसो मान्छे’ को छायांकन सुरु हुने उनले बताए ।