गत वर्षको चैत ५ गतेबाट चलचित्र ‘बिच्छेद’ को छायांकन सुरु भएको थियो । तर, कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि चलचित्रको छायांकन रोकियो । अब तिहारपछि बाँकी छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । सत्यराज चौलागाईंले क्याप्टेनसिप सम्हालेको चलचित्रमा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी वर्देवाको जोडी बाँधिएको छ ।

यो चलचित्रका लागि पहिला अभिनेत्रीको रुपमा निर्माण टिमले केकी अधिकारीसँग सम्झौता गरेको थियो । तर, ‘परदेशी २’ सँग छायांकन जुध्न भएपछि उनले ‘बिच्छेद’ छाड्ने निर्णय लिएकी थिइन् । उनी बाहिरिएपछि निर्माण टिमले लक्ष्मीलाई लिड अभिनेत्रीमा अनुबन्ध गरेको थियो । मुकुन र लक्ष्मीले यसअघि चलचित्र ‘बुलबुल’ मा काम गरेका थिए । दुवै अभिनयमा उम्दा मानिन्छन् ।
राज पण्डित र सुबास राई निर्माता रहेको चलचित्रमा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापालगायतका कलाकारहरुको अभिनय रहनेछ । संकल्प भुजेल छायाँकार रहेको चलचित्र गाउँले परिवेशमा आधारित भएर निर्माण हुने निर्देशक चौलागाईंले जानकारी दिए । चलचित्रको रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन हुनेछ ।