दिव्यज्योति फाउन्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमीको आयोजनामा नेपालमा नै पहिलो पटक फरक क्षमता (अपांगता) भएका व्यक्तिहरुका लागि ‘अपाङ्गता प्रतिभा-२०२०’ आयोजना हुने भएको छ । आयोजकहरुले ललितपुरमा पत्रकार सम्मेलन गरि नृत्य, गायन र चित्रकलालगायतका बिषयहरुमा प्रतिष्पर्धा गराइने जानकारी दिए ।
प्रतिभामा सहभागीता जनाउनको लागि देशका सातवटा प्रदेशका मुख्य शहरहरु काठमाण्डौं, बिर्तामोड, इटहरी, जनकपुर, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी लगायतका शहरहरुबाट फरक क्षमता भएका बिभिन्न विधाका प्रतिभाहरु छनौट गरीने छ । देशैभरबाट छनौटमा परेका अन्तीम प्रतिष्पर्धीहरु बिच काठमाण्डौंमा अन्तीम प्रतिष्पर्धा गरिने बताइएको छ ।
फरक क्षमताका विश्व साइकल यात्री चित्र पौडेल र रश्मी शाक्यको संयोजन तथा व्यवस्थापनमा हुन गइरहेको प्रतिष्पर्धामा प्रतिभाको टाइटल बिजेताले एक लाख नगद सहित मुस्ताङ घुम्ने अवसर पनि पाउने छन् । अपांग प्रतिमा २०२०को अडिसन कोरोनाको संक्रमण नबढेमा भदौ २७ बाट सुरु गरिने छ । प्रतिभाको पहिलो अडिसन काठमाण्डौंबाट गरिने छ ।

पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ बैज्ञानिक तथा सामाजीक अभियन्ता डा. समिरमणी दिक्षितले फरक क्षमताका व्यक्तिहरु बिच हुन लागिएको प्रतिष्पर्धा सराहनीय रहेको बताँउदै सफलताको कामना व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय अपांग पत्रकार संघ नेपालका अध्यक्ष रबिन प्रसाद थपलियाले प्रतियोगिताले फरक क्षमता भएका व्यक्तिहरुमा अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।
हाँस्य कलाकार किरण केसी (रातामकै) ले ‘अपाङ्गता प्रतिभा २०२०’ मा अपांगता भएका व्यक्तिहरुले आफनो प्रतिभा देखाउने ठुलो अबसर मिल्ने बताँउदै प्रतियोगिताले नेपाली कला संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने बताए । विश्व साइकल यात्री पुस्कर शाहले आफै शारिरीक अपांगता भएर अरु अपांगता भएकालाई उत्प्रेरणा जगाउने चित्र पौडेल भित्रको अदम्य शाहसको प्रशंसा गरे ।
कार्यक्रमका संयोजक तथा व्यवस्थापक विश्व साइकल यात्री चित्र पौडेलले अपांगता भएका व्यक्तिहरुमा रहेको क्षमतालाई विश्व सामु चिनाउने राम्रो अवसर रहेको बताँउदै प्रतियोगितामा सहभागी हुन सबैलाई आग्रह गरे । कार्यक्रममा पुर्व राज्यमन्त्री बिराज बिष्ट, कलाकार सुरेन्द्र केसी (मुलाको साग), दिव्यज्योती फाउण्डेसनकी अध्यक्ष ज्योति केसी, गणेश राई, न्युजलाइन्स नेपालका अध्यक्ष राजु भट्ट, न्युज अभियानका प्रतिनिधि समिर नेपाल, लगायतको उपस्थीति रहेको थियो ।