बाढी पहिरोबाट घाइते भएकाहरुका लागि चलचित्र पत्रकार संघ नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिवार अनामनगरस्थित पुरानो गोर्खा एफएम चोकमा सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर संघले रक्तदान गरेको हो । रक्तदान कार्यक्रममा ४१ प्वाइन्ट रगत संकलन भएको पत्रकार संघका कार्यक्रम उपाध्यक्ष जीवन कुमार पराजुलीले बताए ।

सय जनाभन्दा बढीको सहभागिता रहेको रक्तदान कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल अतिथिको रुपमा उपस्थित भएका थिए । उनले कोरोना महामारीको समयमा सावधानी अपनाएर संघले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गरे । महिला चलचित्र निर्देशक सम्झना रौनियार, वितरक सुनिल मानन्धर, कलाकार निर्मल शर्मालगायत कार्यक्रममा उपस्थित थिए ।
संघका अध्यक्ष दिनेश सिटौलाले कोरोना महामारीका बीच पनि राम्रो उपस्थितिका साथ रक्तदान सम्पन्न भएको बताए । विभिन्न ठाउँमा बाढी पहिरोमा परेर घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएको जानकारी प्राप्त भएपछि संघले रक्तदान गरेको उनको भनाई छ । उनले भोलीका दिनमा पनि सामाजिक हित हुने कार्यक्रमहरु लिएर आउने प्रतिवद्धता व्यक्त गरे ।