अभिनेत्री पूजा शर्माले आइतबार चलचित्र कलाकार संघमा पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छन् । पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले कलाकार संघसँगै चलचित्र पत्रकार संघ र एपीवान टेलिभिजनमा पनि उजुरी दिएकी छन् । पत्रकार सुवेदीले कार्यक्रममा प्रयोग गरेको शब्दले आफ्नो अपमान भएको ठानेर उजुरी दिएको पूजा भनाई छ ।
अभिनेत्री पूजाले भनेकी छन्, ‘प्रकाश दाईसँग ३ महिना अगाडि दिएको अन्तर्वार्ताका कारण म ट्रोलको शिकार भएको थिएँ । जसले गर्दा मैले मानसिक तनाव भोगिरहेको थिएँ । फेरि उहाँले मलाई अन्तरर्वार्ताका लागि बोलाउनुभयो, म जान मानिनँ । उहाँले मलाई हरेक हप्ता गिराएर बोलिरहनुभएको छ । पछिल्लो भाग हेरेपछि मलाई नराम्रो लाग्यो र अब लड्छु भन्ने निर्णय गरेँ ।’

अभिनेत्री पूजाको निवेदन लिँदै कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले उनलाई न्याय दिने आश्वासन दिएका छन् । उनले सञ्चारकर्मीसँग भने, ‘भोली प्रकाशजीले कार्यक्रममा कसैको नाम लिएको छैन भन्दै पन्छिन खोज्नुहोला । तर, उहाँले कसैको नाम नलिएपनि सिंगो चलचित्र क्षेत्रलाई होच्याउनुभएको छ । हामी आकस्मिक बैठक बसेर यो विषयमा के गर्ने भनेर निर्णय लिनेछौं ।’
त्यस्तै, निर्देशक थापाले पत्रकार सुवेदीले यसअघि पनि पूजामाथि शब्दमार्फत् ह्यारेस्मेन्ट गरेको आरोप लगाए । ‘कसैलाई शारीरिक खोट लगाएर ह्यारेसमेन्ट गर्न पाइँदैन । पूजाको ठाउँमा उहाँले आफ्नो छोरीलाई राखेर त्यसप्रकारको शब्द प्रयोग गर्न सक्नुहुन्छ ? पत्रकारले अन्तरर्वार्तामा बोलायो भन्दैमा जानै पर्छ भन्ने छ र ?,’ उनले भने । पूजाको लडाईंमा आफू साथमा रहेको उनले बताए ।