प्रकाश सुवेदीले माफी मागे



एपी वान टेलिभिजनको ‘रजतपट’ कार्यक्रममा आपत्तिजनक भाषा र प्रस्तुतिका कारण विवादमा आएका चलचित्र पत्रकार प्रकाश सुवेदीले माफी मागेका छन् । कार्यक्रममा बोलेको कुराले आलोचित भएपछि उनले विशेष भिडियो बनाएर माफी मागेका हुन् । भिडियोमा आफूले प्रयोग गरेको दारा भन्ने शब्द प्रयोग गर्न नहुने र आफूबाट गल्ती भएको भन्दै उनले माफी मागेका छन् ।

उनले भनेका छन्, ‘कार्यक्रममा व्यक्त गरिएका मेरा भावनाहरु व्यक्ति विशेषप्रति लक्षित थिएन । प्रतिकात्मक रुपमा व्यक्त गरिएका विचारहरु थिए । मेरो भन्ने शैली अलि फरक भयो होला । मैले भन्ने खोजेको कुराको अर्थको अनर्थ लाग्न गयो होला । मेरो मुखबाट फुत्किएको दारा भन्ने शब्द वास्तवमा फुत्किनु हुँदैन थियो । गल्ती भयो । भविष्यमा शब्द चयन गर्दा ध्यान पुर्‍याउनेछु ।’

क्यामेरा पछाडि आफूले केही चलचित्रकर्मीलाई यीनै शब्द प्रयोग गरेर जिस्कने गरेको भएता पनि क्यामेरा अगाडि यी शब्द बोल्न नहुने र आफूबाट गल्ती भएको उनले स्वीकारेका छन् । ‘म चुकेकै हो । मैले माफी माग्नै पर्छ । तर, मेरो भनाई कसैप्रति लक्षित थिएन । यस्ता शब्दहरु नेपाली फिल्ममा बढि बोलिने भएका कारण मलाई बानी परेको होला । माफी चाहन्छु,’ उनले भनेका छन् ।

विहीवार कार्यक्रममा पत्रकार सुवेदीले ‘आफै नजान्ने अनि हामीले चाहिं लिएको इन्टर्भ्यू काटिदिनु पर्ने ? मिलाइ मिलाइ महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’ भनेका थिए । अभिनेत्री पूजा शर्माले उक्त शब्द आफूप्रति लक्षित रहेको भन्दै विभिन्न चलचित्र सम्बद्ध संघ संस्थामा उजुरी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu