एक राष्ट्रिय दैनिक पत्रिकाले विवाह अगाडि विग्रिएकी अभिनेत्री प्रियंका कार्की विवाहपछि संस्कारी भएको भनेर प्रकाशन गरेको समाचारप्रति महिला कलाकारहरुले विरोध जनाएका छन् । उक्त समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै प्रियंकाले फेसबुकमा लामो स्टाटस लेख्दै महिला कलाकारहरु निरन्तर साँघुरो मानसिकताको शिकार भएको देख्दा चिन्ता लाग्ने गरेको बताएकी छन् ।
केही महिला कलाकारलाई स्टाटस ट्याग गर्दै उनले लेखेकी छन्, ‘के तपाईँका छोरी चेली संस्कारी छन् ? छैनन् ? बिहे गरिदिनुस् । शरीर ढाकिदिनुस् । चुलो चौको गरेर शरीर ढाकिदिए बल्ल छोरीहरु संस्कारी हुन्छन् । सपना नदेखाउनुस् । करियर र एम्बिसन जस्ता कुरामा नअल्झाउनुस् । चुलो धाने र पहिरन जाने पो छोरीको घर र बिहे टिक्छ । बिहे नटिके समाजले कुसंस्कारी भन्छ ।’

साँघुरो मानसिकता भएका मानिसबाट आफूलाई डर लाग्ने गरेको र यस्ता व्यक्तिहरु समाजलाई ‘इन्फूलेन्स’ गर्न सक्ने ठाउँमा रहेको उनको तर्क छ । उनले अगाडि लेखेकी छन्, ‘कहिले आफ्नो द्वेश पूरा गर्न त कहिले इर्श्या, केही पत्रकारदेखि कलाकार स्वयम् र आम जनता समेतको निरन्तर निशानामा हामी बाँचिरहेका छौँ । कहिले बिक्ने समाचार बनेर त कहिले हिजो आएकाले हेप्ने भन्दै, हामी समाजलाई महिला कलाकारहरु तर्फ झनै नकारात्मक बनाउँदैछौँ ।’
उनले हामीमा सामाजिक उत्तरदायित्व सकिएकै हो त भनेर पनि प्रश्न गरेकी छन् । ‘आम जनमानसले त्यही बुझ्छ, जे देखाइन्छ। के महिला कलाकार सम्मानका लायक छैनन् ?,’ उनी प्रश्न गर्दै अगाडि लेख्छिन्, ‘के हामी ‘बिक्ने समाचार’ र ‘हट गसिप’ मै सीमित छौँ ?’ प्रियंकाको यो स्टाटस रीमा विश्वकर्मा, केकी अधिकारी, स्वस्तिमा खड्का, वर्षा राउतलगायतले पनि शेयर गरेका छन् ।