भारतीय सिरियलमा निरिशाको कमब्याक



चलचित्र ‘जानी नजानी’ बाट डेब्यू गरेकी अभिनेत्री हुन्, निरिशा बस्नेत । पुराना अभिनेता विश्व बस्नेतकी छोरी समेत हुन् । यो चलचित्र व्यापारिक रुपमा सफल नभए पनि उनको अभिनयको प्रशंसा भएको थियो । अहिले उनी भारतको मुम्बईमा छिन् । हालै कोरोना संक्रमणबाट निको भएकी उनले भारतको चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा समेत अभिनय गरेकी छन् ।

‘जानी नजानी’ असफल भएपछि निराश भएर मुम्बई फर्किएकी उनले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गर्दैछन् । हिस्टोरिकल फिक्सन सिरियल ‘तेनाली रामा’ मा उनले केमियो भूमिकामा अभिनय गरेकी छन् । उनले आफ्नो भागको छायांकन पूरा गरिसकेकी छन् । ‘सब टिभी’ बाट ब्रोडकास्ट हुने सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरिरहेको छ ।

सिरियलमा आफ्नो भूमिकाबारे उनले भनिन्, ‘मेरो केमियो हो तर भूमिका कमजोर छैन । सिरियलमा मेरो कारणले नयाँ ट्विस्ट आउँछ । मेरो प्रवेशपछि कथा मोडिन्छ । मैले तीन महिना ‘चन्द्र नन्दिनी’ र दुई हप्ता ‘तेनाली रामा’ गरेँ । तर, त्यो तीन महिनाभन्दा यो दुई हप्ताको यात्रा तुलनात्मक हिसाबले बलियो छ ।’ उनले सिरियलमा निर्वाह गरेको चरित्रको बारेमा भने जानकारी दिइनन् ।

‘जानी नजानी’ गर्नका लागि निरिशा भारतबाट नेपाल आएकी थिइन् । यो चलचित्रको छायांकन र प्रचारका लागि एक वर्ष समय दिँदा उनको हातबाट धेरै भारतीय प्रोजेक्टहरु फुत्केको थियो । चलचित्र प्रदर्शन लगत्तै उनी भारत फर्किइन् । तर, एक वर्ष नेपाल बसेका कारण उनलाई पुनः मुम्बईमा सेटल हुन केही समय लाग्यो । अहिले आफूले काम र दाम दुवै राम्रो पाइरहेको उनी बताउँछिन् ।

गत वर्ष दुईवटा सिरियलको छायांकन सकाएकी उनले एक साउथ चलचित्र समेत साइन गरेकी छन् । ‘लकडाउन हुनुभन्दा अगाडि म साउथ चलचित्रको छायांकनका लागि चेन्नई गएको थिएँ । छायांकनको पहिलो दिनबाटै भारतमा लकडाउन भयो । त्यसपछि मुम्बई फर्किएर सिरियल गरेको हुँ । अब लकडाउन खुलेपछि साउथ चलचित्रको बाँकी छायांकन गर्नेछु,’ निरिशाले भनिन् ।

उनलाई बलिउड चलचित्रमा पनि काम गर्ने इच्छा छ । तर, बलिउडमा आफ्नो लुक्सलाई सुहाउने खालको चरित्र नलेखिने उनको भनाई छ । वेब सिरिजका लागि प्रयास गर्ने सोचमा रहेकी उनी राम्रो ब्यानरबाट अफर भए नेपाली चलचित्र पनि गर्ने बताउँछिन् । निरिशा भन्छिन्, ‘मेरो पहिलो चलचित्रले दर्शकको साथ पाउन सकेन । अब नेपाली चलचित्र गर्दा राम्रो ब्यानर र स्क्रिप्ट हेर्छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu