अभिनेता सुधांशु जोशी र अभिनेत्री उषा पौडेल बैबाहिक जीवनमा बाँधिएको चार वर्षपछि अलगिएको भन्ने समाचारले चलचित्र क्षेत्र तातेको छ । उनीहरुले २०७३ सालमा विवाह गरेका थिए । गएको ६ महिनायता उनीहरु अमेरिकामा अलग-अलग बस्दै आएका छन् । विवाह दर्ताको विषयलाई लिएर मनमुटाव भएपछि उनीहरु एकअर्काबाट अलगिएर बस्न थालेको चर्चा छ ।
विवाह दर्ता गर्न नमानेपछि उषा अलग्गै बस्न थालेको चर्चाको अभिनेता सुधांशुले खण्डन गरेका छन् । कलाकर्मीसँगको कुराकानीमा उनले अलग बस्नु पर्ने गरी आफूहरुबीच केही नराम्रो नभएको बताएका छन् । विवाह दर्ता नगरेका कारण अलग बस्दै आएको कुरामा सत्यता नभएको पनि उनले स्पष्ट पारेका छन् । आवश्यकता नपरेकाले विवाह दर्ता नगरेको उनको भनाई छ ।

उनले भनेका छन्, ‘अलग्गै बस्नु पर्ने गरी हामीले कुनै गल्ती गरेका छैनौं । विवाह गरेपछि विवाह दर्ता गर्नुपर्छ । तर, त्यसको आवश्यकता नपरेर गरेका थिएनौं । हामी दुवैका कारण विवाह दर्तामा ढिलाइ भएको होइन । हामी छुट्टिएर बस्नुको कारण विचार नमिल्नु हो । चिनजान भएको छोटो समयमै हाम्रो विवाह भयो । विवाहपछि मात्र हामीले एक-अर्कालाई नजिकबाट चिन्न पायौं ।’
एकअर्काबाट टाढा भएपछि उषालाई आफूले निकै सम्झने गरेको सुधांशुले बताएका छन् । उनी आफूहरुको मिलन हुनेमा पनि विश्वस्त छन् । उनले भनेका छन्, ‘हामी केही महिना अलग भएर बसेका मात्र हौं । मिलेको खण्डमा दुवैले केही कुरामा सम्झौता गरेर एक-अर्कालाई सच्चा मनले माया, आदर र साथ दिनेछौं । मिलन नभए पनि म हरेक निर्णयलाई सम्मान र स्विकार गर्नेछु ।’