२५ लाखको कार पाएका हिमेश भन्छन्, ‘चलाउनै आउँदैन’



कमेडी रियालिटी शो कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्तले कार प्राप्त गरेका छन् । विजेता भएको पाँच महिनापछि उनलाई रियालिटी शोको निर्माण टिमले २५ लाख मुल्य बराबरको कार हस्तान्तरण गरेको हो । बुधवार कान्तिपुर टेलिभिजनको आँगनमा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टिभीका स्टेसन म्यानेजर दिनेश डिसीले उनलाई कार प्रदान गरेका हुन् ।

विजेतालाई कार हस्तान्तरण गर्न किन ढिला ? भन्ने पत्रकारको प्रश्नमा केकीले अन्य रियालिटी शोभन्दा विजेतालाई सबैभन्दा चाँडो कार र अन्य पुरस्कार हस्तान्तरण गरेको दाबी गरिन् । ‘प्रतिकुल अवस्थाको बावजूद हिमेशलाई कार हस्तान्तरण गरेका हौं । परिस्थिति अनुसार त हामीले उहाँलाई उपहार दिन सक्ने अवस्था पनि थिएन । तर, उहाँले समयमै पाउनुपर्छ भनेर हामीले दोस्रो सिजन सुरु हुनुभन्दा अगाडि नै कार प्रदान गरेका हौं,’ उनले भनिन् ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले कान्तिपुर टेलिभिजनको दबाबका कारण पनि दोस्रो सिजन सुरु हुनुभन्दा अगाडि नै विजेतालाई कार हस्तान्तरण गरेको बताए । उनले भने- ‘विजेता भइसकेपछि आफूले पाउनुपर्ने पुरस्कार राशी र गाडी नपाइ-नपाइ हिमेश पठाओमा हिँड्थ्यो । त्यो देख्दा म आफैंलाई पनि दुःख लाग्थ्यो । ढिलो चाँडो वा कसैको दबाबमा भन्दा पनि हिमेशले पाउनुपर्ने पुरस्कार हामीले प्रदान गरेका हौं ।’

कमेडी च्याम्पियन विजेता हिमेश पन्त कार प्राप्त गरे पनि चलाउन नआउने बताउँछन् । ‘मलाई गाडी चलाउन आउँदैन । अहिले जसलाई चलाउन आउँछ उसलाई दिन्छु । अब गाडी सिक्छु अनि चलाउँछु । विभिन्न कारणले विजेता भएपछि गाडी चलाउन सिकिनँ । अब चाहिँ सिक्छु । खासै समय लाग्दैन जस्तो लाग्छ,’ उनले भने । हास्यव्यंग्य क्षेत्रमा आफूलाई अगाडि बढाउन चाहनेका लागि कमेडी च्याम्पियन राम्रो प्लेटफर्म हुने पनि उनले बताए ।

‘कमेडी च्याम्पियन’ को दोश्रो सिजन घोषणा भइसकेको छ । कान्तिपुर टेलिभिजन र कमेडी च्याम्पियनबीच गएको महिना पाँच वर्षका लागि निर्माण र प्रसारणको सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यो रियालिटी शोको दोस्रो सिजनमा पनि निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई रहेका छन् । कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu