बाल्यकालदेखि चलचित्र अभिनयमा सक्रिय रहेकी अभिनेत्री नीता ढुंगाना पनि गायिका बनेकी छन् । उनले केही दिन अगाडि आफ्नो स्वरमा गणेश भजन ‘वक्रतुण्ड महाकाय’ रेकर्ड गराएकी हुन् । नीताले आफ्नो प्रोडक्सन हाउस नीता फिल्मस्बाट भजनको भिडियो पनि निर्माण गरेकी छन् । शनिवार राजधानीको एक गणेश मन्दिरमा भिडियोको छायांकन भइरहेको छ ।

आफूले गाएको भजनको भिडियोमा उनी स्वयं देखिने छिन् । नीताले आफ्नो नाममा खडा गरेको नीता फिल्मस्बाट चलचित्र पनि निर्माण गर्दैछिन् । समुन्द्र भट्टले निर्देशन गर्ने चलचित्रमा उनको सोलो लगानी रहनेछ । चलचित्रमा उनको जोडी कोशिश क्षेत्रीसँग बाँधिनेछ । कोरोनाको अन्त्यपछि चलचित्रको छायांकन सुरु हुने बताइएको छ । चलचित्रको कथा कोशिशले लेखिरहेका छन् ।
चलचित्र क्षेत्रमा स्वच्छ छवि बनाएकी नीता अभिनयमा उम्दा मानिन्छिन् । तर, उनको प्रमुख भूमिका रहेका प्रायः चलचित्रले निर्मातालाई मुनाफा दिलाउन सकेका छैनन् । तथापि, चलचित्रको असफलताले उनको करिअरमा भने खासै ठूलो असर पारेको छैन । लगातार चलचित्रमा काम गर्दै आइरहेकी उनको अहिले युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग नाम जोडिएको छ ।