एपी वानबाट प्रशारण हुने कार्यक्रम ‘रजतपट’ मा पत्रकार प्रकाश सुवेदीले एक अभिनेत्रीप्रति लक्षित गरेर अपमानजनक शब्द बोलेपछि सात चलचित्र सम्बद्ध संघ-संस्थाले चलचित्रकर्मीहरुलाई ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ मा सहभागी नहुन भन्दै संयुक्त विज्ञप्ती जारी गरे । जुन अहिले विवादमा परेको छ । पत्रकार सुवेदीले माफी मागिसकेको अवस्थामा विभिन्न संस्था मिलेर कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेकोमा चलचित्रकर्मीकर्मीहरुले विरोध गरेका छन् ।
सात संस्थाको विज्ञप्तीमा चलचित्र निर्माता संघको तर्फबाट अध्यक्ष आकाश अधिकारीले पनि हस्ताक्षर गरेका थिए । तर, यस संस्थाका महासचिव रोज राणाले पत्रकार सुवेदीले माफी मागिसकेको अवस्थामा कार्यक्रम बहिष्कार गर्ने निर्णय गरिएकोप्रति आपत्ति जनाए । उनले निर्माता संघको तर्फबाट अध्यक्षले गरेको हस्ताक्षर संस्थाको नभई व्यक्तिको धारणा रहेको समेत बताएका थिए ।

उनले यसअघि पनि अध्यक्ष अधिकारीले गरेका केही निर्णयमा असहमति जनाएका थिए । पत्रकार सुवेदीले सञ्चालन गर्ने कार्यक्रममा सहभागी नहुन भन्दै आकाश अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तीप्रति रोजले आपत्ति जनाएपछि दुईबीच संघभित्र अन्तरविरोध रहेको चर्चा चलेको छ । यसबीच, मंगलवार अध्यक्ष र महासचिवले एक विज्ञप्ती जारी गर्दै यसको खण्डन गरेका छन् ।
विचार र सिद्धान्तबाहेक अन्य कुरामा संघको कार्य-समितिभित्र अन्तरविरोध नभएको विज्ञप्तीमा उल्लेख छ । प्रकाश सुवेदी र पूजा शर्माबीचको विवादमा सात संस्थाहरुको विज्ञप्तीलाई लिएर भइरहेको टिका-टिप्पणीको बारेमा पनि निर्माता संघले आधिकारिक धारणा सार्वजनिक गरेको छ । वार्ता र संवादबाटै समस्याको समाधान गर्नुपर्ने पक्षमा संघ रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघका अध्यक्ष र महासचिवले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ- ‘उक्त विवादलाई लोकतान्त्रिक मुल्य र मान्यताअनुसार सभ्य रुपमा वार्ता र संवादबाट नै समाधान गरिनु पर्दछ भन्ने निर्माता संघका अध्यक्षज्यूको प्रारम्भदेखि नै कथन रहेको थियो, जुन निर्माता संघको आधिकारिक धारणा समेत हो ।’ उक्त विवाद संवादबाटै समाधान हुनेमा निर्माता संघले विश्वास व्यक्त गरेको छ ।