मंगलवार साँझ १०१ वर्षको उमेरमा दिवंगत भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो निधनपछि मात्रै सार्वजनिक गर्न भनेर रेकर्ड गराएको ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री प्राप्त भएको छ । घिमिरेले उक्त गीत आफ्नो निधनपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउन आग्रह गरेका थिए ।

स्वर्गीय घिमिरेकी छोरी शान्ति अधिकारीको परिकल्पना र संगीतमा धेरै अगाडि यो गीत रेकर्ड गरिएको थियो । गीतमा कर्ण दासको स्वर छ । २०१६ असोज १ गते लेखिएको यो गीत घिमिरेको ‘किन्नर-किन्नरी’ पुस्तकमा प्रकाशित छ । यो गीत संगीतबद्ध गरेर आफ्नो मृत्युपछि बजाइयोस् भन्ने राष्ट्रकविको अन्तिम इच्छा थियो ।
गीत यस्तो छ :-
त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।
…
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
विहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।
…
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो रासमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।
…
अमरापुरी सभामा आफैंलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।
……………………………………………………
गीतकार- कविवर माधवप्रसाद घिमिरे
संगीत परिकल्पना- शान्ति अधिकारी
संगीत कम्पोजर तथा एरेन्जर- आशिष अविरल
गायक- कर्ण दास
बाँसुरी- गोपाल घटानी
डम्फू, मादल र तबला- भुवन गन्धर्व
सारंगी- हेमन्त कान्छा रसाइली
गितार- सञ्जीब बराइली
बेस गितार- अनुप दास
भायोलिन समूह- नोर्बू छिरिङ आप्पा, मोहनकृष्ण कार्की दली, गणेश परियार, मनोहर सुनाम र रविन कार्की दली
रेकर्डिङ, मिक्सिङ र मास्टरिङ- एचबिएन किस्मत
विशेष धन्यवाद- आनन्दराज खनाल
निर्माता- शान्ति शर्मा अधिकारी, अशेषकान्त शर्मा र मन्दिरा ढुंगेल
रेकर्डिङ स्टुडियो- राग रेकर्डस्