पत्रकार प्रकाश सुवेदी र नायिका पूजा शर्माबीच मिलापत्र भएको छ । दुई पक्षबीच भएको सहमतिमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रममा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको छ भने अब कार्यक्रममा पेशागत मर्यादामा रहेर प्रचलित कानुन र पेशागत आचार-संहिताको परिपालना तर्फ सजग रहि भविष्यमा आपसी सद्भाव बिग्रन नदिने उल्लेख छ ।

अभिनेत्री र पत्रकारबीच भएको मिलापत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका कार्यवाहक अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर गरेका छन् । ‘रजतपट’ कार्यक्रममा पत्रकार सुवेदीले बोलेको एक शब्दलाई लिएर विवाद उत्पन्न भएको थियो ।
आफूलाई लक्षित गरेर अपमानजनक शब्द बोलेको भन्दै पूजाले चलचित्र सम्बद्ध विभिन्न संघ-संस्थामा पत्रकार सुवेदी विरुद्ध उजुरी दिएकी थिइन् । आफूले बोलेको शब्दलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि पत्रकार सुवेदीले एक भिडियोमार्फत् माफी मागेका थिए । तर, पूजाले लिखित रुपमा माफी माग्नु पर्ने अडान राख्दै आएकी थिइन् ।