‘चिसो वर्ष’ मा भित्रिएकी हुन् बेनिशा ?



समीक्षात्मक रुपमा सफल ठहरिएको चलचित्र ‘कालो पोथी’ का निर्देशक मीनबहादुर भाम विगत २ वर्षभन्दा लामो समयदेखि एक चलचित्रको स्क्रिप्टमा काम गरिरहेका छन् । ‘चिसो वर्ष’ नामक चलचित्रका लागि उनले २० पटक पुनर्लेखन गरेर पटकथालाई अन्तिम रुप दिइसकेका छन् । स्थिति सामान्य भए अर्को वर्षको बैशाखबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

निर्माण नहुँदै यो चलचित्रको पटकथाले करिब १ करोड ३ लाख नेपाली रूपैयाँ बराबरको पुरस्कार समेत जितिसकेको छ । गएको महिना इस्तानबुलमा आयोजित ‘टीआरटी १२ पुन्टो स्क्रिप्ट ल्याब’ ले ‘अन्तर्राष्ट्रिय सह-निर्माण’ का लागि उक्त पुरस्कार प्रदान गरेको थियो । हिमाली गाउँको कथामा निर्माण हुने चलचित्रले बहुपति प्रथाको पृष्ठभूमिमा पेमा र लामाको यात्रालाई प्रस्तुत गर्नेछ ।

यो चलचित्रका लागि अहिलेसम्म कलाकार फाइनल भएका छैनन् । बुधवार अभिनेत्री बेनिशा हमालले आफ्नो आधिकारिक फेसबुक र इन्स्टाग्राम स्टोरीमा निर्देशक भामसँगको भेटको एक भिडियो राखेपछि ‘चिसो वर्ष’ मा उनी भित्रिएको अड्कलबाजी लगाउन थालिएको छ । यसअघि चलचित्र ‘कालो पोथी’ मा दुईबीच सहकार्य भएको थियो । चलचित्रमा बेनिशाको केमियो रोल थियो ।

‘कालो पोथी’ ले देश तथा अन्तर्राष्ट्रिय स्तरमा कमाएको ख्यातीका कारण अहिले धेरै नेपाली कलाकार मीनसँग काम गर्न इच्छुक छन् । बेनिशा अपवाद हुने कुरै भएन । तर, उनले सामाजिक सञ्जालमा राखेको स्टोरीमा उनीहरुलाई कोरोना परीक्षण गर्दै गरेको देख्न सकिन्छ । उनीहरुको संयोगले कोरोना परीक्षण गराउने क्रममा भेट भएको थियो वा चलचित्रका लागि ? त्यो त चाँडै खुल्ने नै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu