मोडल प्रकाश शाहको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उनी अध्यक्ष रहेको लायन्स क्लब अफ काठमाडौं शुभले शनिबार अपरान्ह काठमाडौंको सामाखुसीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोरोना संक्रमणका कारण विरामी बढेपछि मुलुकभर रगतको अभाव छ । सोही कारण विभिन्न सामाजिक संस्थाहरुले अहिले रक्तदान कार्यक्रमलाई महत्त्व दिएका छन् । यसैक्रममा यो क्लबले रक्तदान गरेको हो ।

कोरोनाबिरुद्ध पूर्ण रुपमा सचेतना अपनाउँदै सामाजिक दुरी कायम गरेर कार्यक्रममा रक्तदान गरिएको थियो । सो क्रममा ४८ जनाले रक्तदान गरेका छन् । काठमाडौंमा रगतको अभाव भएर रेडक्रसबाट रक्तदानको लागि अनुरोध आएपछि आफूहरुले छोटो तयारीमै निषेधाज्ञाका बीच रक्तदान कार्यक्रम राख्नु परेको अध्यक्ष प्रकाश शाहले बताए ।

लायन्स क्लब डिस्ट्रिक गभर्नर मनबहादुर रोकायको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संयोजन लायन्स क्बल रक्तसञ्चार विभाग प्रमुख लायन शिबराम गौतमको सक्रिय सहयोगमा सम्पन्न भएको थियो । यस्तै, लायन्स क्लब अफ काठमाडौं सगुनका क्लस्टर चिफ सुधा थापा, एलसिआईएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटीलगायतले रक्तदान कार्यक्रमलाई सम्पन्न गर्न सहयोग पुर्याएको अध्यक्ष प्रकाश शाहले बताए । कार्यक्रममा कोरियोग्राफर माइकल चन्दलगायत विभिन्न मोडलहरु पनि सहभागी थिए ।