जब नारायण गोपालले ‘माइती घर’ को गीत गाउन सकेनन्…



आइतवार (आज) स्वर सम्राट नारायण गोपाल गुरूवाचार्यको ८१औं जन्म जयन्ती मनाइँदैछ । नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानमा हरेक वर्ष उनको सम्झना गर्ने गरिन्छ । बुवा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रुपमा विक्रम संवत १९९६ असोज १८ गते काठमाण्डौको किलागलमा उनको जन्म भएको थियो ।

नारायण गोपालले २०१७ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराएका थिए । उनका ‘यति धेरै माया दिइ, मलाई नसोध कहाँ दुख्छ घाउ, एउटा मान्छेको मायाले, अल्झेछ क्यारे पछ्यौरी, लालीगुराँस भएछु, भो भो मलाई नछेक, मधुमासमा यो दिल’ लगायतका झण्डै पाँच सय गीत गीत रेकर्ड छन् भने प्रायः गीत लोकप्रिय छन् ।

नारायण गोपालले नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको सम्मान गर्दै २०२३ सालमा सर्वोत्तम संगीतकार (रेडियो नेपाल), संवत २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार लगायतबाट सम्मानित भएका छन् ।

चार जना दाजु-भाइ र तीन जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गरेपछि भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन थालेका थिए । तर, उनले शास्त्रीय संगीतको अध्ययन पूरा नगर्दै छाडे । ०२७ साल फागुनमा पेमालासँग विवाह गरेका उनको सन्तान भने छैनन् ।

नारायण गोपाल गायक, संगीतकारका साथै इतिहासका जानकार, फुटबल खेलका पारखी, चेस खेलाडी, कुशल भान्से, फोटोग्राफरका रूपमा समेत परिचित थिए । सांगीतिक यात्राका क्रममा उनले केही असफलता समेत व्यहोर्नुपरेको थियो । उनी पहिलो पटक नै स्वर परीक्षामा अनुत्तीर्ण भएका थिए भने चलचित्र ‘माइती घर’ को गीत गाउन जाँदा गाउन नसकेर अस्वीकृत हुनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu