कोरोना संक्रमित चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ । कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको भएपछि उनी होम आइसोलेशनमा बसिरहेका थिए । बुधवार स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ । थप उपचारको लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ ।

मनोज गजुरेलले फेसबुकबाट आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै आफू कोरोना संक्रमित हुन पुगेको उनले बताएका थिए । उनले गएको मंगलवार फेसबुकमा आफ्नो स्वास्थ्य अवस्था पूर्ण रुपमा सुधार नभएको र शरीरले फरक फरक कृया-प्रतिकृया देखाइरहेको उल्लेख गरेका थिए ।
मनोज गजुरेल लकडाउन हुनुभन्दा अगाडि कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त थिए । अब यसको दोस्रो सिजनको तयारी भइरहेको छ । यो शोमा उनी निर्णायकको भूमिकामा छन् । उनले चलचित्रमा समेत डेब्यू गरिसकेका छन् । चलचित्र ‘सय कडा दश’ मा उनी मुख्य भूमिका थिए । बक्सअफिसमा यो चलचित्र असफल भए पनि उनको अभिनय भने रुचाइएको थियो ।