हास्य कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरीले करोडौंको लगानीमा फार्म हाउस खोल्ने भएका छन् । ‘छक्का पञ्जा’ सिरिजको सफलतापछि आर्थिक रुपमा बलियो भएका उनले चन्द्रागिरी नगरपालिकामा फार्म हाउस खोल्न लागेका हुन् । पुर्खर्यौली १० रोपनी जग्गा, दाजुभाइहरुको सम्पत्ति र केही जग्गा किनेर आफूले फार्म हाउस खोल्न लागेको दीपकराजले बताए ।

फार्म हाउस निर्माणका लागि पाँच करोडसम्म लगानी लाग्ने उनको प्रारम्भिक अनुमान छ । फार्ममा ७/८ जनासम्म बस्न मिल्ने ३० वटा स–साना घर र सभा, सेमिनारलगायतका कार्यक्रम गर्नका लागि डेढ सय जनासम्म अट्ने सभाहल बनाइने उनले बताए । त्यसबाहेकको १ बिगाहा जग्गामा कृषि सम्बन्धि काम गरिनेछ । दीपकराज तीन महिनादेखि यही फार्मको काममा व्यस्त छन् ।
कोरोना भाइरसका कारण चलचित्र निर्माण गर्ने अवस्था नभएका कारण आफूले वैकल्पिक पेशा अपनाएको दीपकराज बताउँछन् । फार्मले एउटा आकार लिएपछि नयाँ चलचित्रको तयारीमा जुट्ने उनले बताए । फार्म हाउसमा सिर्जना हुने रोजगारीमा स्थानीयलाई विशेष प्राथमिकता दिने उनको भनाई छ । उनका अनुसार, फार्म हाउस निर्माणको काम सकिन २ वर्ष लाग्ने अनुमान गरिएको छ ।




