आज फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व । तर, उपत्यकालगायतका क्षेत्रमा यसवर्ष होलीको चहलपहल तुलनात्मक रुपमा विगत बर्षहरुको भन्दा शुन्य जस्तै देखिएको छ । गत वर्ष पनि यही अवस्था थियो । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले घरैमा बसेर होली मनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेपछि प्रायःले घरमै परिवारसँग होली मनाइरहेका छन् ।

संक्रमणको भयले कलाकारहरुले पनि यसपालीको होली घरमै बसेर मनाएका छन् । अभिनेत्री सञ्चिता लुईटेलले बिहानै घरको छतमा श्रीमान निखिल उप्रेती र छोरा-छोरीसँग होली मनाएका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छन् । परिवारसँग होली मनाउन पाउँदा निखिल पनि खुसी देखिएका छन् । उनीसँग सञ्चिताले रोमान्टिक पोजमा एक तस्विर समेत खिचाएकी छन् ।

अभिनेत्री रेखा थापाले पनि आमासँग अपार्टमेन्टमा होली मनाएकी छन् । होलीको रंगमा रंगिएका तस्विरहरु फेसबुकमा पोस्ट गर्दै उनले सबैको जीवनले डर र चिन्ताबाट मुक्ति पाओस् भन्दै होलीको शुभकामना दिएकी छन् । अघिल्ला वर्षहरुमा फिल्मकर्मीहरुले आयोजना गर्ने होली कार्यक्रममा सहभागी हुन उनलाई भ्याइनभ्याइ हुन्थ्यो । तर, यस वर्ष उनको होली घरमै सीमित भएको छ ।

कोरोना महामारी नभएको हुन्थ्यो भने यतिबेला अभिनेत्री करिश्मा मानन्धरको निवासमा होली मनाउन फिल्मकर्मीहरुको ठूलो जमघट भइसकेको हुने थियो । तर, कोरोनाले यस वर्ष करिश्माले होली कार्यक्रम राखेकी छैनन् । उनले यसपाली परिवारसँग मात्र होली मनाएकी छन् । अभिनेत्री झरना थापाले पनि घरमै बसेर परिवारसँग होली मनाएका तस्विरहरु फेसबुकमा राखेकी छन् ।

त्यस्तै, गत वर्ष विवाह बन्धनमा बाँधिएका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले एकअर्कालाई रंग दलेर होलीको खुसी साटेका छन् । अभिनेत्रीहरु नम्रता सापकोटा, नीता ढुंगाना, एलिजा गौतम, आँचल शर्मा, सुष्मा कार्की, पूजा शर्मा, वर्षा सिवाकोटी लगायतका कलाकारले पनि घरमै बसेर होली मनाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

