‘धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ’



काठमाडौँ।
गत २१ असारमा अभिनेता शारुक ताम्राकारले आत्महत्या गरेपछि चलचित्र क्षेत्र शोकमा छ । उनले आत्महत्या किन गरे भन्ने बिषय रहस्यमा छ । अनुसन्धान चलिरहेको छ तर ठोस प्रमाण र कारण पत्ता लागेको छैन । मानिसले आत्महत्या किन गर्छ र न्यूनिकरणको उपाय के हो त ? मनोविज्ञ प्राध्यापाक डा. गोविन्द शरण उपाध्यायले आफु यूरोप भ्रमण गएको बेला नेदरल्याण्डको मेयरसँग भएको कुराकानीको प्रसङ्ग र शारुक आत्महत्या प्रकरण जोडेर सुझावसहित यो आलेख तयार पारेका छन् ।

२०१९ अप्रिल महिना । यूरोपको देश नेदरल्याण्डका एक नगरपालिकाका मेयरसँग उनको कार्यालयमा भलाकुसारी चल्दै थियो । टेबलमा राखिएएको स्थानीय पत्रिकामा प्रकाशित आत्महत्याको समाचारमा मेरो आँखा पर्‍यो । मैले उक्त समाचारमा ध्यान दिएपछि मेयरले चासो दिईन् ।

मेयरले सोधिन् “तपाईंको देशमा पनि आत्महत्या गर्छन् ?”

मैले भने., “धेरैले गर्छन् ।”

जवाफ भूईं नखस्दै उनले सोधिन्, “किन गर्छन् ?”

“हाम्रो सरकार विकास र सम्पन्नताको झुटो आश्वासन बेच्छ । जननिर्वाचित प्रतिनिधिहरूले समेत सधैँ जनतालाई सुख र सुविधाको सपनामात्र देखाउने गर्छन् । नेताहरूबाट अपेक्षा धेरै हुन्छ तर त्यो पुरा हुँदैन । सम्पन्न देशको जीवनशैलीको नक्कल गर्न खोज्नु र त्यसका लागि स्रोतसाधन उपलब्ध नहुनु आत्महत्या रोज्ने कारण मध्ये एउटा हो । मैले गरिबी र अशिक्षालाई मात्र दोष दिन्न । तपाईंको देशमा धेरै धनि व्यक्तिहरू छन् तर यहाँ झन् बढि आत्महत्याका खबर आउँछन्”, मैले नेपालको यथार्थ सविस्तार लगाएँ ।

“तपाईंको देशका नागरिकले किन आत्महत्या गर्छन् ?”, मलाई यूरोपको अवस्था जान्न मन लाग्यो ।

“मलाई ठ्याक्कै थाहा छैन तर मलाई लाग्छ, हाम्रो देशमा पारिवारिक (पतिपत्नी बिचको स्वाभाविक प्रेम र त्यसले निर्माण गर्ने गृहस्थी) जीवनको ज्यादै अभाव छ । सबैलाई स्वतन्त्रता चाहिएको छ । बजारमा आउने नयाँ प्रविधिहरू चाहिएको छ । सबै आफैमा मग्न छन् । एकअर्कालाई माया दर्शाउने भेटिदैनन् । प्रेम शारिरिक सम्पर्कसँग जोडिएको छ । धेरैले प्राकृतिक माया साटासाट गर्ने, भावना साट्ने मान्छे नपाएर आत्महत्या गर्छन् होला । हाम्रो सबै भन्दा ठूलो पीडा “परिवारिक जीवन पनि एउटा कर्मकाण्ड” जस्तै बन्नु हो”, मेयरले शान्त मुद्रामा भनिन् ।

“तर, हाम्रो देशका समाजवादी नेता र युवापुस्तालाई तपाईंहरूको जीवनशैलीको नक्कल गर्न निकै अभिरुचि देखिन्छ”, मैले समाजमा देखेको कुरा उनलाई सुनाएँ ।

“ए, त्यसो हो भने आत्महत्या बढ्ने निश्चित छ । म तपाईंको कुराबाट धेरैजसो सहमत छु कि आत्महत्याको कारण गरिवीमात्र होइन जीवनप्रतिको निराशा वा समाजप्रतिको विद्रोह पनि हुन्छ”, उनले भोलीको भयावहलाई सहजै अनुमान गरिन् ।

मेयरले आफ्नो विगत मलाई सुनाईन् । “आत्महत्या अत्यन्त अप्रिय निर्णय हो । मैले टर्कीबाट यहाँ आएर धेरै सङ्घर्ष गर्नु पर्यो तर मैले आत्महत्याको विचार आउनबाट आफैलाई रोक्न सफल भएँ । म धेरै पटक यो धनी देशमा भोकै सुतेकी छु । मेरा पति र सडकमै बसेका छौँ । म अहिले मेयर छु । सुन्दर जीवन बाँच्नु पर्छ ।”

उनले धैर्यताको प्रसङ्ग उठाएपछि मैले उनलाई हिन्दूको आस्था रहेको वेदको प्रसङ्ग सुनाउने सोँच बनाएँ ।

“हो, वेदमा पनि आत्महत्या गर्नुलाई अन्धकारको बाटो भन्दै आलोचना गरिएको छ । वेदले आत्महत्या गर्नबाट रोक्ने सबैभन्दा बलियो बाटो ‘धैर्य’ हो भनिएको छ । मान्छेको जीवनमा सजिलो र असजिलो आउने र जाने गरिरहेका हुन्छन् । असजिलो पनि जान्छ भनेर धैर्य गर्नेहरूले आत्मविनाश गर्दैनन् । मलाई लाग्छ, यो आत्महत्या गर्ने मान्छेले वेदको यो सुझाव थाहा पाएको भए आत्महत्या रोज्ने थिएन होला ।”

उनले वेदको सूझाव स्वीकार गर्दै भनिन्, “तपाईंहरू वेद मान्नुहुन्छ तर पनि आत्महत्या हुन्छन् नि ?”

“पहिलो कुरा त वेदको यो उपदेशका विषयमा थोरै मान्छेहरूलाई थाहा छ । दोश्रो कुरा ‘चरम निराशा’मा कसैले वेद पढ्दैन । सम्बन्धित व्यक्तिले सबै थोक थाति राखेर आत्महत्याको योजना बनाउँछ र अनन्त: आत्महत्या गर्छ । मलाई लाग्छ, वेदको उपरोक्त सुझाव र अन्य दार्शनिक, धार्मिक र मनोवैज्ञानिक सुझावहरूलाई सर्वसाधारणले बुझ्ने गरी सञ्चारमा लैजाने काम गर्नुपर्छ । तरपनि आत्महत्या रोकिने दर शत प्रतिशत भने हुँदैन ।”

“मलाई लाग्छ, नेदरल्याण्डमा पारिवारिक (पतिपत्नीका परम्परागत) मूल्यहरूलाई पुनःस्थापित गरेर आत्महत्यामा केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । यस मामिलामा तपाईंहरू (नेपाली) र भारतीयहरू निकै सजीव हुनुहुन्छ” मेयरले भनिन् ।

“हो, हाम्रो पारिवारिक मूल्यहरू बलिया छन् । मलाई लाग्छ, हाम्रो परिवारको संरचनामा रहेर हरेक व्यक्तिले माया साटासाट गर्न पाउँछ । एकल परिवार पनि राम्रै होला तर एकल परिवारका सदस्यले आफ्नो दायित्व आफै बोक्नु पर्ने हुँदा गुनासो गर्ने, आफ्नो सुखदुख पोख्ने ठाउँको अभाव भोग्नुपर्छ । तर आत्महत्या रोक्ने सबैभन्दा बलियो साधन भनेकै आफुलाई निराशाबाट जोगाउनु र धैर्यको अभ्यास गर्नु हो ।”

मेयरले समाज उन्नत होस् वा कमउन्नत, समस्यारहित कहीँपनि नभएको बताउँदै वेदको सुझावको कुरा मनन गर्ने जनाईन् ।

000000000

हालै मात्र नेपाली चलचित्रका अभिनेता शारुक ताम्राकारले आत्महत्याको बाटो रोजे । इतिहास खोज्दै जाने हो भने गायन र चलचित्र क्षेत्रमा लागेका अनेकौँ व्यक्तिले आत्महत्या गरेका छन् । उनीहरूले आत्महत्याको बाटो किन रोजे ? यो प्रश्नको उत्तर सहज छैन तर, कुनै पनि व्यक्तिले विनाकारण आत्महत्या गर्दैन । नाम चलेका व्यक्तिहरूको आत्महत्याको क्रमिकता बढेसँगै समाजमा यसले नराम्रो असर पार्छ । आत्महत्याप्रति दुरुत्साहन उत्पन्न गर्ने खतरा बढ्छ । सरोकार वाला निकाय र मनोवैज्ञानिकहरूले अनुसन्धान गरेर कारण पत्ता लगाउन सक्छन् । आत्महत्या गरिसकेका व्यक्तिहरूप्रति बढी “शङ्का र आरोप”को कुनै तुक छैन ।

उपरोक्त आत्महत्याका सवालमा एउटा विज्ञको रूपमा यति भन्न सकिन्छ कि कुनै न कुनै माध्यम प्रयोग गरेर आत्महत्याबारे प्रत्यक्ष वा अप्रत्यक्ष सूचना दिएकै हुनुपर्छ । किनभने मनोविज्ञानको नियमअनुसार आत्महत्याको तयारी वा निर्णय गरेको मान्छेले यसबारे बोलेर, लेखेर वा आफ्नो दैनिक व्यबहारमा देखिने गरी परिवर्तन गरेर सूचना दिन्छ । मलाई लाग्छ, सामाजिक सञ्जाल चहार्ने हो भने दुवै जनाले आत्महत्याको पूर्वसूचना दिएको कुरा भेट्न सम्भव छ । यस्तो अवस्थामा उनका सहकर्मी, पारिवारिक व्यक्तिहरू वा साथीहरूले उनहरूको “पुकार सुन्ने कुरा” जानेको भए ज्यान जोगिन सक्थ्यो । खासगरी सम्बन्धित क्षेत्रका व्यक्तिहरूले आफ्ना सहकर्मीको भाषा र आनीबानीको “भाषा”मा ध्यान पुर्‍याउने बानी बसाल्नु धेरै राम्रो हुन्छ ।

  • प्रा. डा. उपाध्यायले मनोवैज्ञानिक परामर्श दिने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu