सौगात र दयाहाङको फरक अवतारमा ‘मितज्यू’को नयाँ गीत ‘भुनभुन माहुरी’ सार्वजनिक



आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति तोकेको नेपाली कथानक चलचित्र ‘मितज्यू’को निर्माण पक्षले प्रचारप्रसारलाई तीव्रता दिएको छ। यसै क्रममा आइतबार ओएसआर युट्युब च्यानलमार्फत चलचित्रको दोस्रो सांगीतिक कोसेली ‘भुनभुन माहुरी’ दर्शकमाझ ल्याइएको छ। यसअघि सार्वजनिक भएको ‘गैराघरे काँइली’ बोलको गीतले दर्शकबाट पाएको अपार माया र चर्चापछि निर्माण युनिटले यो नयाँ लोकलयमा आधारित गीत सार्वजनिक गरेको हो।

सार्वजनिक भिडियोमा नेपाली रजतपटका दुई चर्चित अनुहार सौगात मल्ल र दयाहाङ राईसँगै अभिनेत्री रुषा न्यौपानेको आकर्षक नृत्य देख्न सकिन्छ। विशेषगरी सौगात मल्ललाई यस चलचित्रमा विगतका भूमिकाभन्दा नितान्त फरक आवरण (लुक्स) मा प्रस्तुत गरिएको छ। युवापुस्तामाझ लोकप्रिय बन्दै गएको दोहोरी संस्कृतिलाई समेट्दै दोहोरी साँझको जीवन्त परिवेशमा यो गीतको छायांकन गरिएको छ। निङ्मा डी लेप्चाको फरक र उत्कृष्ट कोरियोग्राफी रहेको भिडियोले तीन पात्रबीचको त्रिकोणात्मक प्रेम र समर्पणलाई ‘टाढा भइस नभन त कहिले, तिमीसँगै छु सानु म जहिले’ भन्ने भावमार्फत कलात्मक रूपमा प्रस्तुत गरेको छ। यस गीतमा श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत रहेको छ भने उनलाई गायनमा गायिका लक्ष्मी मल्लले सुमधुर साथ दिएकी छन्।

ग्रामीण भेगको कथावस्तुलाई मुख्य आधार बनाएर निर्माण गरिएको यस चलचित्रबाट डान्सिङ रियालिटी सोबाट चर्चाको शिखर चुमेकी तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा ठूलो पर्दामा डेब्यु गर्दैछिन्। चलचित्रमा दयाहाङ, सौगात र तेरियाका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको जम्बो टोलीको सशक्त अभिनय रहेको छ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन् भने लगानी जनक घर्ती मगरको रहेको छ। चलचित्रमा शिशिर बिशंखेको छायांकन, लोकेश बज्राचार्यको सम्पादन तथा फिरोज खड्काको मुख्य सहायक निर्देशन रहेको छ। चलचित्रका सम्पूर्ण गीतहरूमा श्रीकृष्ण बम मल्लकै संगीत सुन्न सकिन्छ भने स्वरमा मल्लसहित चर्चित गायिकाहरू मेलिना राई र लक्ष्मी मल्लले साथ दिएका छन्। आरआर फिल्म्सले वितरणको जिम्मा लिएको ‘मितज्यू’को डिजिटल अधिकार भने ओएसआरले खरिद गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu