
काठमाडौं – ‘हरेक विद्यार्थीको कथा’ बोल्ने चलचित्र ‘रोल नं १’ को अर्थपूर्ण टाइटल गीत सार्वजनिक भएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रले नेपालको विद्यमान शैक्षिक प्रणाली र प्रथम हुने होडबाजीमा बालबालिकाले झेल्नुपर्ने मानसिक दबाबलाई आफ्नो मुख्य विषयवस्तु बनाएको छ। आउँदो जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यस सिनेमाले गीतमार्फत नै दर्शकको ध्यान खिच्ने सङ्केत गरेको छ।
सार्वजनिक गीतमा शब्द, सङ्गीत तथा स्वर प्रशान्त शिवाकोटीको रहेको छ। गीतको भिडियोले ग्रामीण भेगको एउटा बालकको सङ्घर्षपूर्ण दैनिकी र मनोविज्ञानलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। भिडियोमा म्याग्दीका रमणीय हिमाली दृश्य, परम्परागत ढुङ्गे घर र त्यहाँको ग्रामीण स्कुले जनजीवनलाई कलात्मक रूपमा उतारिएको छ। एकातिर मैनबत्तीको मधुरो उज्यालोमा रातभर पढ्नुपर्ने बाध्यता र अर्कोतिर साथीभाइसँग भलिबल खेल्ने एवं रमाउने बालसुलभ रहरलाई दबाउनुपरेको अवस्था भिडियोमा जीवन्त रूपमा देखाइएको छ।
‘अरू सबै मूर्ख, एउटै मात्र विद्वान’ जस्ता चोटिला शब्दहरूमार्फत गीतले कक्षामा पहिलो हुनेलाई मात्र कदर गर्ने हाम्रो सामाजिक मनोविज्ञानमाथि कडा प्रहार गरेको छ। बालबालिकाको वास्तविक क्षमता बुझ्नुको साटो ‘रट्टा मार’ भन्दै घोकन्ते विद्यालाई प्रश्रय दिने परिपाटीले उनीहरूको उज्यालो भविष्य निर्माणमा कसरी नकारात्मक असर पारिरहेको छ भन्ने कुरालाई यस गीतले ऐना जस्तै देखाएको छ। यसले चलचित्रको मूल मर्मलाई सशक्त रूपमा स्थापित गरेको छ।
जौन योञ्जनको निर्देशन तथा महेश दवाडीको लेखन रहेको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीले मुख्य भूमिका निर्वाह गरेका छन्। त्यसैगरी, बाल–कलाकारहरू निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय चलचित्रमा देख्न पाइनेछ। शिव राम श्रेष्ठले छायांकन गरेको यस सिनेमामा रोहित शाक्यको बिजिएम, मदन घिमिरेको सम्पादन, कला संग्रौलाको प्रोडक्सन डिजाइन र फिरोज खड्का मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। चलचित्रको प्रोडक्सन हेडको जिम्मेवारी भने मनोज जोशीले सम्हालेका छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस चलचित्रमा छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माताका रूपमा जोडिएका छन्। निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका हलहरूसँगै विदेशमा पनि एकैसाथ प्रदर्शनमा ल्याइनेछ।
गीतः




