
काठमाडौं – अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘हर्ष’को छायाङ्कन सकिएको छ । एकता पौडेलको निर्देशनमा बनेको यो चलचित्रको सम्पूर्ण छायाङ्कन चितवनमा ३५ दिनभित्र सम्पन्न भएको हो ।
निर्देशक पौडेलले निर्धारित समयभन्दा पाँच दिन अगाडि नै छायाङ्कन सकिएको जानकारी दिँदै निर्माण टिमको मेहनत र सहकार्यले यो सम्भव भएको बताइन् । चलचित्रमा पाँच वटा गीत समावेश गरिएको छ, जसको छायाङ्कन पनि समयमै सम्पन्न भएको छ ।
चलचित्रमा खगेन्द्र र वर्षाका साथमा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, सृष्टि महर्जन र सङ्गीता नापितजस्ता कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक पौडेल आफैँले लेखेकी हुन् ।
दिवङ्गत निर्देशक शिव रेग्मीकी भान्जी पौडेलले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङको अध्ययन गरेकी छिन् । यसअघि उनले केही छोटा चलचित्रहरू पनि निर्माण गरिसकेकी छन् ।
ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता प्रसन्न पौडेल र विकास पौडेल हुन् भने कार्यकारी निर्माता हिक्मत चोखल हुन् । चलचित्रको प्रदर्शन मिति भने निर्माण टिमले सार्वजनिक गरेको छैन ।




