दुई दशकपछि पर्दामा फर्किँदै उत्तम-निरुता जोडीः ‘सारथी’को शुभमुहूर्तसँगै छायांकन टोली म्याग्दी प्रस्थान



काठमाडौं – राजधानीको ऐतिहासिक भद्रकाली मन्दिरमा सोमबार क्यामेरा र क्ल्यापबोर्ड पूजा गर्दै नयाँ नेपाली चलचित्र ‘सारथी’को औपचारिक निर्माण थालनी (शुभमुहूर्त) गरिएको छ। यसै चलचित्रमार्फत कुमार गजुरेलले चलचित्र निर्देशनमा आफ्नो डेब्यु गर्दैछन्। काठमाडौंमा मुहूर्तको औपचारिक कार्यक्रम सम्पन्न गरेलगत्तै निर्माण टोली छायांकनका लागि म्याग्दीको रमणीय स्थल गुर्जा खानीतर्फ प्रस्थान गरेको छ।
यस चलचित्रको सबैभन्दा ठूलो आकर्षण र दर्शकको प्रतीक्षाको विषय भनेको सदाबहार जोडी उत्तम प्रधान र निरुता सिंहको पुनरामन हो। करिब दुई दशक लामो अन्तरालपछि यो चर्चित जोडी पुनः एकसाथ पर्दामा देखिन लागेकाले सिने वृत्तमा विशेष कौतूहल सिर्जना भएको छ। सोमबारको मुहूर्त समारोहमा अभिनेत्री सिंह स्वयं उपस्थित थिइन् भने अभिनेता उत्तम प्रधान आगामी वैशाख १५ गते नेपाल आएर सोझै छायांकन सेटमा जोडिने तयारी रहेको निर्माण पक्षले जनाएको छ। चलचित्रमा उत्तम र निरुताका अलावा मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्मा लगायतका कलाकारहरूको दमदार अभिनय रहनेछ।
नेपाली चलचित्र क्षेत्रको सम्पादन विधामा करिब तीन दशक लामो अमूल्य योगदान दिएका वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ले ‘सारथी’मार्फत निर्माताको रूपमा नयाँ यात्रा सुरु गरेका छन्। सम्पादन कक्षको आफ्नो लामो र परिपक्व अनुभवलाई सदुपयोग गर्दै दर्शकलाई एउटा उत्कृष्ट कथा पस्कने हुटहुटीका साथ आफू निर्माणमा होमिएको थापाले बताएका छन्। किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्मस्‌को संयुक्त ब्यानरमा निर्माण हुन लागेको यस प्रोजेक्टमा सौर्यल थापा पनि निर्माताको रूपमा रहेका छन्। त्यस्तै, चलचित्रको कार्यकारी निर्माताको जिम्मेवारी रदिप श्रेष्ठ र प्रदिप रायमाझीले सम्हालेका छन् भने लाइन प्रोड्युसरमा अमिर केसी र स्वयं निर्देशक गजुरेल रहेका छन्।
निर्देशक गजुरेलका अनुसार आगामी वैशाख ९ गते बुधबारदेखि म्याग्दीको गुर्जा खानी र त्यस आसपासका मनमोहक प्राकृतिक दृश्यहरूमा चलचित्रको छायांकन सुरु हुनेछ। निर्माण टिमले यस चलचित्रका लागि करिब ४० दिनको निरन्तर छायांकन तालिका (सेड्युल) तय गरेको छ।
चलचित्रको शुभमुहूर्त समारोहमा नेपाली चलचित्रका दिग्गज हस्तीहरू लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठले विशेष अतिथिको रूपमा उपस्थित भई निर्माण टोलीलाई सफलताको शुभकामना दिएका थिए। सोही अवसरमा नेपाल छन्त्याल संघका पूर्वमहासचिव एवं वर्तमान सल्लाहकार दीपबहादुर छन्त्यालको पनि आतिथ्यता रहेको थियो। उत्कृष्ट प्राविधिक टोली र अनुभवी कलाकारहरूको संगम रहेको ‘सारथी’ले नेपाली चलचित्र उद्योगमा इँटा थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu