
काठमाडौं – चलचित्र ‘जनै हराएको बाहुन’को शुभ मुहूर्त गरिएको छ । आइतबार बिहान काठमाडौंको बुढनिलकन्ठ मन्दिर परिसरमा कलाकार, निर्देशक र निर्माण टिमको उपस्थितिमा मुहूर्त गरिएको हो । हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको यस चलचित्रको छायाङ्कन सोमबारदेखि काभ्रेको पनौतीबाट सुरु हुने जनाइएको छ ।
यस चलचित्रमा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई र भोलाराज सापकोटाको मुख्य भूमिका रहनेछ । यसमा गाउँबाट सहर आएका एक सरल व्यक्तिको जीवनमा आएका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा रहनेछ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । पेपरक्लिप प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माता विमल न्यौपाने हुन् । चलचित्रको कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी सिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन् । चलचित्रमा थानेश्वर गौतम र एसडी योगीको सङ्गीत रहनेछ ।




