चलचित्रहरू ‘वरिष्ठ बलराम’ र ‘कुस्ती’को छायाङ्कन सकियो



काठमाडौं – दुई नेपाली चलचित्रहरू ‘वरिष्ठ बलराम’ र ‘कुस्ती’ले छायाङ्कन सम्पन्न गरेका छन् । सामाजिक विषयवस्तुमा आधारित ‘वरिष्ठ बलराम’ र प्रेम कथानक कमेडी ड्रामा ‘कुस्ती’ दुवै चलचित्रले अब पोस्ट प्रोडक्सनको तयारी थालेका छन् ।

‘वरिष्ठ बलराम’: सामाजिक कथासँगै सन्देश

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको चलचित्र ‘वरिष्ठ बलराम’ को ३६ दिन लामो छायाङ्कन चितवन र हेटौँडाका विभिन्न लोकेसनमा सम्पन्न भएको हो । दयाहाङ राई र विजय बराल प्रमुख भूमिकामा रहेको चलचित्र सामाजिक सन्देशसँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको छ ।

निर्देशक पौडेलले लोकेसन चयनदेखि दृश्यांकनसम्म कथाको माग अनुसार काम गर्न सफल भएको बताए । लक्ष्मी पूजाको दिन, कार्तिक ३ गते रिलिजको तयारीमा रहेको चलचित्रमा समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायत कलाकारको अभिनय छ ।

वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रमा मानकृष्ण महर्जनको छायाङ्कन, प्रशान्त शिवाकोटीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र प्रदीप लामाको कोरियोग्राफी रहेको छ ।

‘कुस्ती’: प्रेम र भावनाको कथा

अनिल योञ्जनको निर्देशनमा तयार भएको चलचित्र ‘कुस्ती’ ले ३९ औँ दिनमा इन्डक्ल्याप गरेको छ । प्रेम गरे पनि स्वभावको भिन्नताका कारण एकसाथ रहन नसक्ने जोडीको सङ्घर्षलाई केन्द्रमा राखिएको फिल्म ‘कुस्ती’ले हास्य रस र भावनात्मक उतारचढाव समेटेको बताइएको छ ।

छायाङ्कनकै क्रममा विदेशी वितरकहरूबाट प्रदर्शन अधिकारको प्रस्ताव आइरहेको यो चलचित्रमा धिरज मगर र मिरुना मगरको मुख्य भूमिका रहेको छ । भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ बाट चिनिएकी दीकिला शेर्पाको यो डेब्यु नेपाली चलचित्र हो ।

एमटीभी र एप्पल इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा उमङ्ग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, शिशिर खातीको कोरियोग्राफी, र दीपक शर्मा, अनिल योञ्जन तथा कल्याण सिंहको सङ्गीत रहेको छ ।

भदौ २०८२ मा रिलिज हुने तयारीमा रहेको ‘कुस्ती’ले देशभित्र मात्र होइन, विदेशमा समेत रिलिजको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu