
काठमाडौं – घरेलु बक्स अफिसमा करिब ५० करोडको व्यापार गर्दै नेपालकै सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको रेकर्ड कायम गरेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको वक्तव्यले चलचित्र क्षेत्र गर्माएको छ । निर्माता पौडेलले चलचित्र चलाउन लाखौँको टिकट आफैँले खरिद गरेको बिहीबार स्वीकार गर्दै फेसबुकमा एक स्ट्याटस पोस्ट गरेका थिए ।
उनले लेखेका छन्, “इन्द्रेको बाउ चन्द्रेले चलचित्र बनाए पनि २०/२५ लाखको त टिकट किन्नै पर्छ । १०/१२ लाखको त हामीले पनि किनेकै हो । अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो ।” नयाँ वर्षको अवसरमा शुक्रवार रिलिज हुन लागेका दुई नेपाली चलचित्रहरू ‘पिताम्बर’ र ‘कर्मा’को अग्रिम बुकिङमा देखिएको निराशाको छेकोमा उनले यो वक्तव्य दिनुलाई अर्थपूर्ण तवरले हेरिएको छ । निर्माताको यो सनसनीपूर्ण खुलासाले नेपाली चलचित्र क्षेत्रमा नयाँ बहस सुरु भएको छ ।
निर्माताको यस्तो भनाइ र यस क्षेत्रका अन्य व्यक्तिहरूको समर्थनले चलचित्र क्षेत्रमा टिकट खरिद गरेर चलचित्र चलाउने प्रवृत्ति मौलाएको देखाउँछ । चलचित्र क्षेत्रका जानकारहरूका अनुसार निर्माताले टिकट मात्र नभई चलचित्रको गीत र ट्रेलरमा नक्कली भ्यूज समेत किन्ने गरेका छन् । २० देखि २५ हजार तिरेर एक लाख नक्कली भ्यूज किन्ने प्रचलन बढेको छ । यसले चलचित्रको वास्तविक लोकप्रियता मापन गर्न कठिन बनाएको छ ।
निर्माताको यो वक्तव्यले नेपाली चलचित्र क्षेत्रको पारदर्शितामाथि प्रश्न उठाएको छ ।