
काठमाडौं – राज बहादुर साने निर्देशित नेपाली चलचित्र ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ । नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर पोस्टर सार्वजनिक गर्दै आगामी साउन २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
पोस्टरमा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाललाई प्रस्तुत गरिएको छ । सौगात वैशाखीको सहारामा हातमा रातो भाले लिएर उभिएका छन् भने बेनिशा बच्चा बोकेर प्रफुल्लित मुद्रामा देखिएकी छिन् । पोस्टरले उनीहरूको भूमिका श्रीमान्–श्रीमतीको रहेको अनुमान गरिएको छ ।
माओवादी जनयुद्धको पृष्ठभूमिमा बनेको चलचित्रमा सौगातले जनयुद्धमा घाइते भएका व्यक्तिको भूमिका निभाएका छन् । सिनेमामा सौगात र बेनिशाका साथै लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।
तुलसी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको ‘सिटामोल’को कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । यसमा भूगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता र गङ्गाराम श्रेष्ठ सह निर्माता रहेका छन् ।
यसमा बाबुल गिरीको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, राउन्ड डिजाइनर मुकेश शाह, द्वन्द्व निर्देशन देव महर्जन र शङ्कर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राईको रहेको छ भने दिव्य सुवेदीले छायाङ्कन गरेका हुन् ।