
काठमाडौं – दिग्गज निर्देशक तुलसी घिमिरेको चलचित्र ‘पहाड’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । यो चलचित्र आउँदो कात्तिक ७ गते, तिहारको भोलिपल्टबाट देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने भएको छ ।
विदेश पलायनका कारण रित्तिँदै गएका नेपाली पहाडी भेगको यथार्थ कथालाई प्रस्तुत गर्ने ‘पहाड’ ले दर्शकहरूलाई भावुक बनाउने विश्वास निर्देशक घिमिरेले लिएका छन् । “हामीले वितरकहरूसँग छलफल गरेर प्रदर्शन मिति तय गरेका हौँ । पारिवारिक कथावस्तु भएकाले पनि दर्शकहरूले यो चलचित्र सपरिवार हेर्न सक्नेछन्,” निर्देशक घिमिरेले भने ।
यसमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ र सलोना बज्राचार्यलगायत कलाकारको अभिनय रहेको छ । यस फिल्ममार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीको रूपमा डेब्यु गराउँदै छन् ।
चलचित्रको छायाङ्कन नेपालको गोरखा र भारतको मुम्बईमा भएको छ । ओजस्वी केसीले निर्माण गरेको यो चलचित्रमा प्रमोद प्रधानको छायाङ्कन रहेको छ भने सङ्गीत रञ्जित गजमेरको छ ।