
नेपाली चलचित्र क्षेत्रमा बढ्दो आत्म केन्द्रित प्रवृत्तिको कथा
– चक्रबहादुर चन्द, सामाजिक अभियन्ता/चलचित्र निर्माता
“दाइ, हाम्रो चलचित्रको पोस्टर शेयर गरिदिनु न…” – यस्तो अनुरोध आजभोलि नेपाली चलचित्र उद्योगमा सामान्य भइसकेको छ । हरेक नयाँ चलचित्र रिलिज नजिकिँदै जाँदा चलचित्र युनिटका सदस्य, निर्माता, कलाकार, निर्देशक वा साथीभाइको इनबक्समा यस्ता सन्देश पुग्छन् । चलचित्रको ट्रेलर, पोस्टर, गीत, टिकटक क्लिप वा अन्तर्वार्ता शेयर गरिदिन आग्रह गरिन्छ ।
यस्ता सामग्रीहरू पठाउनु सामान्य र आवश्यक प्रक्रिया नै हो, जुन हरेक चलचित्रकर्मीले अपनाउने गर्छन् । कोहीले मन पराएर शेयर गर्छन्, कोही बेवास्ता गर्छन् – तर सबै कुरा व्यक्तिको सोच र प्राथमिकतामा भर पर्छ ।
तर अचम्मको कुरा के हुन्छ भने – यही अनुरोध गर्ने व्यक्ति आफैँ अरूको चलचित्र प्रदर्शनको समयमा न त प्रचारप्रसारमा साथ दिन्छन्, न त शुभकामनाका दुई शब्द नै लेख्न चाहन्छन् । यस्तो एकतर्फी अपेक्षा र सहयोगको संस्कार नेपाली चलचित्र क्षेत्रमा बिस्तारै जरा गाड्दै गएको छ । जुन प्रवृत्ति दीर्घकालीन रूपमा स्वस्थ होइन ।
आत्म केन्द्रित सोच र सामूहिक यात्राको विस्मरण
चलचित्र एउटा सामूहिक कला हो – जसमा निर्माता, निर्देशक, लेखक, छायाकार, सम्पादक, कलाकार, स्पट टेक्निसियन, हल सञ्चालक, मिडियाकर्मी, दर्शकजस्ता दर्जनौँ हातहरूको समर्पण र श्रम लाग्छ । चलचित्र त बन्छ, तर चलचित्र सफल बनाउन यसको प्रचारप्रसार त त्यसभन्दा पनि कठिन काम हो – फलामको चिउरा चपाएजस्तै ।
डिजिटल युगमा चलचित्रको सफलताको ठुलो हिस्सा सामाजिक सञ्जाल, मिडिया र जनसञ्चारमा निर्भर हुन्छ । तर त्यही ठाउँमा “मलाई मात्र प्रमोट गर, म अरूलाई किन?” भन्ने स्वार्थ केन्द्रित सोच हाबी हुन थालेको छ ।
कसैले आफ्नो चलचित्रको प्रचारमा अरूलाई सन्देश पठाउँछ – “पोस्टर शेयर गरिदिनु न” – तर जब अरूको पालो आउँछ, उ आफैँ मौन बस्छ । पोस्टर शेयर त परैको कुरा भयो, धेरैले अरूको मेहनतको तारिफ गर्न वा शुभकामना दिन पनि आँट देखाउँदैनन् ।
प्रतिस्पर्धा होइन, सहकार्य
यस्तो प्रवृत्ति केवल व्यक्तिगत अहङ्कार, ईर्ष्या वा अस्वस्थ प्रतिस्पर्धाबाट जन्मिएको हो । हामीले अझै पनि कसैको राम्रो कामको प्रशंसा गर्नुलाई कमजोरी ठान्ने प्रवृत्तिबाट छुटकारा पाएका छैनौँ ।
तर यथार्थ के हो भने – साँचो प्रशंसा अरूको हौसला मात्र बढाउँदैन, आफूभित्रको आत्मविश्वास पनि सुदृढ गर्छ । नेपाली चलचित्र क्षेत्रको समृद्धि त्यतिखेर मात्र सम्भव छ, जब हामी अरूको सफलतालाई पनि आफ्नो सफलता ठान्न सिक्छौँ ।
चलचित्र हाम्रो हो, तिम्रो-मेरो होइन
केही कलाकार र निर्देशकहरू छन्, जसले हरेक चलचित्रलाई आफ्नो चलचित्रसरह माया गर्छन् । उनीहरूले ट्रेलर हेरेर प्रतिक्रिया दिन्छन्, शुभकामना दिन्छन्, सामाजिक सञ्जालमा प्रचार सामग्री शेयर गर्छन् । यसरी उद्योगमै सकारात्मक सन्देश फैलन्छ – कि हामी एउटै टिम हौँ ।
“दाइ, हाम्रो चलचित्रको पोस्टर शेयर गरिदिनु न…” भन्ने सन्देश केवल एक लाइन होइन । त्यो कुनै समूहको महिनौँको मेहनत, सपना र आशाको आवाज हो । त्यसैले यस्तो अनुरोधलाई हल्का रूपमा होइन, मनदेखि सहयोगका रूपमा बुझ्न आवश्यक छ ।
सहयोग नै सफलता हो
कुनै पनि चलचित्र वा कलाकार एक्लै सफल हुँदैन । सफल त्यो हो, जसले अरूको सफलतालाई मनदेखि स्वीकार गर्न र समर्थन गर्न सक्छ ।
जुन दिन हामी सबैले नेपाली चलचित्र उद्योगलाई ‘मेरो मात्र होइन, हाम्रो हो’ भन्ने भावनाले हेर्न थाल्छौँ – त्यो दिनबाट मात्रै नेपाली चलचित्र क्षेत्रको समृद्ध यात्रा सुरु हुनेछ ।
जय नेपाली चलचित्र ।




