
काठमाडौं – नेपाली चलचित्र ‘एक्लो’को लागी अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । साइन्स फिक्सन कथामा आधारित यो चलचित्रको पोस्टरमा दिया पुनलाई ‘एस्ट्रोनट पुन’ को रूपमा प्रस्तुत गरिएको छ ।
निर्देशक प्रदीप शाहीले सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, “आज हामी गर्वका साथ हाम्री आफ्नी दिया पुनलाई प्रस्तुत गर्दछौँ । एक प्रतिभाशाली अभिनेत्री, जो एक अद्भुत साहसी महिला पनि हुन्, किनकि उहाँले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । यो आमाको दिनको अवसरमा, उहाँले फिल्ममा निभाउनुभएको एक समर्पित र मायालु आमाको भूमिकालाई सम्मान गर्नु एकदमै उपयुक्त मौका हो । सबै आमाहरूलाई सुखद आमाको दिनको धेरै धेरै शुभकामना । आउनुहोस्, हामी सबै मिलेर हाम्रा आमाहरूलाई आज मात्र नभई उहाँहरूको सम्पूर्ण जीवनभरि अथाह प्रेम, स्नेह र उच्च सम्मान गरौँ ।”
हाल यसको पोस्ट प्रोडक्सनको काम लन्डनमा तीव्र गतिमा भइरहेको छ । केही समयअघि निर्देशक शाही प्रतिष्ठित कान्स प्रोड्यूसर्स नेटवर्कका लागि छानिएपछि फिल्म ‘एक्लो’ को चर्चा थप चुलिएको छ ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहका साथै बेलायती अभिनेता जेमी बेकनको पनि अभिनय रहेको छ ।