‘ऊनको स्वीटर’ साँझमा गुन्जिए सुजन चापागाईँ, छोटो समयमै युट्युबको शीर्षस्थानमा ट्रेलर



काठमाडौं – मङ्गलवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको आँगन संगीतप्रेमीहरूले भरिएको थियो । ‘ऊनको स्वीटर’ साँझ मनाउन तम्तयार दर्शक/श्रोता एउटा अलग्गै आवाज सुन्न र स्वागतका हात हल्लाउने प्रतीक्षामा थिए ।‌ नभन्दै स्टेजमा आफ्नो साङ्गीतिक टिमसँगै पछिल्लो समयका मनप्रिय गायक सुजन चापागाईँ उक्लिए । र दर्शकहरूलाई जादुमयी स्वरले पहिलो कोसेली पस्किए, ‘लजाएर एक्लै किन बसेकी मायालु ।’

करिब दुई वर्षपछि सुजन लाइभ कन्सर्टमा फर्किएका थिए । यही वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको हुन‌ लागेको आर्टमान्डूको पहिलो चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारको भिन्न शैलीस्वरुप सुजनको कन्सर्ट आयोजना गरिएको हो ।‌ सुजन चापागाईँ एन्ड इन्फिनिटी टिमले सहभागीहरूको बाक्लो उपस्थितिलाई गर्माउलो बनाएको थियो । उनलाई प्रत्यक्ष सुन्न व्यग्र प्रतीक्षा गरिरहेकाहरूमाझ सुजनले त्यसपछि ‘गाला पुक्क’ सुनाए । ‘तीनपाते’ गीत उनको पहिलो प्रोजेक्ट मात्र थिएन । निर्देशक नवीन चौहान, गीतकार हर्क साउदसँगको सहकार्यको पहिलो कदम पनि थियो । त्यो पहिलो कदमलाई दर्शक/श्रोताहरूले प्रेमिल अनुमोदन गरिदिएका थिए । त्यो कसिलो सहकार्यको सुरुवाती दिनको गीत गाउँदा संगीतप्रेमीहरू मन्त्रमुग्ध भए ।

सोही कार्यक्रममा ‘ऊनको स्वीटर’ ट्रेलर पनि प्रस्तुत गरिएको थियो‌ । पाँचथरका अलौकिक दृश्यहरूमा कथालाई काव्यात्मक बुनेका निर्देशक चौहानले दर्शकहरूलाई न्यानो बाँड्ने हृदयदेखिकै धोको रहेको सुनाए । सुजनले ‘ऊनको स्वीटर’सँगै बुनेको शीर्ष गीत सुनाए-

‘फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र, पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र !’

सुजनको गीतमा कहिले सहभागीहरू मन्द बतास जसरी बहिरहेका थिए त कहिले उठेर नाचिरहेका थिए । जब सुजनले प्रेम जोडी विवेक पङ्गेनी र सिर्जना सुवेदीलाई ट्रिब्यूट दिँदै ‘एक्लै भएँ नि’ गाए, संगीतप्रेमीहरूको हृदय रेटियो । योसँगै सुजनले ‘फूलथुंगे रानी’ , ‘मखमली’ गाइसक्दा माहौल गुलजार देखिएको थियो ।

कार्यक्रममा फिल्मको ‘काफ्ले’ गीत पनि गुन्जिएको थियो । गीतमा फिल्मकै कलाकार एलेक्स पारस, परीक्षा लिम्बुले नृत्य प्रस्तुत गरेका थिए । सुजनलाई गायनमा गायिका सलिना विकले साथ दिएकी थिइन् । साङ्गीतिक टिममा सुजनसँगै सञ्जीव बराइली, नकुल सिंह गुरुङ, प्रिन्स नेपाली, जगन्नाथ धौगोडा, दीपेन्द्र काफ्ले, सन्देश महर्जन थिए । 

कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरको साथमा सांसदहरू सुहान नेम्वाङ, अशोक कुमार चौधरी, सोविता गौतमहरूसँगै विभिन्न अतिथिहरूको उपस्थिति थियो । 

‘ऊनको स्वीटर’मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।

यसैबीच, ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक भएको छोटो समयमा नै युट्युबको सिनेमा सेक्सनको शीर्ष स्थानमा पुगेको छ । दर्शकको सकारात्मक प्रतिक्रियासहित ट्रेलरले चर्चा कमाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu