
काठमाडौं – चलचित्र ‘मोहर’ को निर्माण टोलीले आज यसको पहिलो पोस्टर सार्वजनिक गरेको छ । साउन २३ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको पोस्टरमा मुख्य कलाकारहरू पल शाह, बेनिशा हमाल र नीति शाहलाई प्रमुख स्थान दिइएको छ । साथै, कलाकार अर्जुन जङ्ग शाही पनि पोस्टरमा देखिएका छन् ।
पोस्टरमा अभिनेता पल शाह गम्भीर मुद्रामा कतै हेरिरहेका छन् भने अभिनेत्री बेनिशा हमालको अनुहारमा डरको भाव देखिन्छ । तर, नीति शाह भने प्रफुल्लित देखिएकी छन् । यसले चलचित्रमा त्रिकोणात्मक प्रेम सम्बन्ध र द्वन्द्वको सङ्केत गरेको अनुमान लगाउन सकिन्छ । ‘मोहर’ मा मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल कलाकार सारा शर्मा जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको यो चलचित्र चुम्बन जङ्ग शाहीले निर्माण गरेका हुन् । फिल्म मेकर्स प्रा.लि.को प्रस्तुति रहेको ‘मोहर’ मा दीपेन बस्न्यातको छायाङ्कन, कुमार महर्जनको द्वन्द्व निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको सङ्गीत तथा प्रमोद ढुङ्गाना र हर्क साउदको गीत रहेको छ ।