रमेश र प्याट्रिकले ‘चुले निम्तो’ बनाउँदै, महेशको लेखनमा वली निर्देशक



काठमाडौं – नेपालको प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको शब्दकोश अनुसार ‘चुले निम्तो’को अर्थ ‘एउटा चुलामा पकाएर खाने जति सबै परिवारलाई गरिएको निम्तो वा नोकरलगायतका जहानलाई गरिएको निम्तो’ भन्ने हुन्छ । अब यो शीर्षकमा चलचित्र बन्ने भएको छ । चलचित्रका निर्माताले सार्वजनिक गरेको घोषणाको डिजाइन र यसको शीर्षकअनुसार ग्रामीण भेगको बिहेको परिवेश, संस्कार र जीवनशैलीमा आधारित कथा लिएर यो चलचित्र बन्दैछ ।

प्याट्रीक सुवेदी र रमेश ढकाल निर्माता रहेको फिल्मको घोषणा हालै विशेष शैलीमा विवाहको कार्डजस्तै बनाइएको पोस्टरमार्फत गरिएको हो । सेभेन सिज इन्टरनेसनल फिल्म्सले निर्माण गर्न लागेको चलचित्रमा निर्देशकको रूपमा दीपक  वलीलाई अनुबन्ध गरिएको छ । वलीले तिहारपछिनै छायाङ्कन सुरु हुने जनाएका छन् भने कलाकार र अन्य विस्तृत विवरण केही समयपछि सार्वजनिक गरिने बताएका छन् ।

चलचित्रको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । उनका अनुसार यो चलचित्र ग्रामीण परिवेशमा हुने विवाह र त्यससँग जोडिएका संस्कार, हास्यपात्रता र सामाजिक सम्बन्ध वरिपरि घुम्नेछ ।

यसअघि सेभेन सिज इन्टरटेनमेन्टले ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सुपर हिट चलचित्र निर्माण गरेको थियो, र सेभेन सिज इन्टरनेसनल फिल्म्स सोही समूहबाट अलग भएको बनेको कम्पनी हो । ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा झन्डै ५० करोडको व्यापार गर्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu